सुर्खेत । वीरेन्द्रनगर जेसिज वर्ष २०२६ को आयोजनामा मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सभाहलमा बीमा सचेतना, ट्राफिक सचेतना, वन व्यवस्थापन तथा वातावरण संरक्षण र कानुनी साक्षरता सम्बन्धी बहुआयामिक सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम वीरेन्द्रनगर जेसिज वर्ष २०२६ का अध्यक्ष जेसी आशिष थापाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरेन्द्रनगर जेसिज वर्ष १९७९ का संस्थापक महासचिव जेसी शम्भु पन्तको उपस्थिति रहेको थियो। त्यस्तै विशिष्ट अतिथिहरूमा नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर २ का उम्मेदवार श्री नारायण कोइराला , नेपाली कांग्रेस सुर्खेत जिल्ला पार्टी सचिव श्री बालदिप कँडेल तथा नेपाली कांग्रेस वीरेन्द्रनगर नगर सभापति श्री उपेन्द्र खड्का को सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जेसी शम्भु पन्त ज्यूले युवाहरू समाज परिवर्तनका संवाहक भएको उल्लेख गर्दै जेसिजले गर्दै आएको नेतृत्व विकास र सामाजिक सचेतनाका कार्यक्रमहरू प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले युवालाई जिम्मेवार, सचेत र सक्षम नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
अध्यक्षीय मन्तव्यमा अध्यक्ष जेसी आशिष थापा ले युवाहरूलाई जीवन उपयोगी ज्ञान, कानुनी सचेतना, वातावरणीय जिम्मेवारी र सुरक्षित जीवनशैलीप्रति जागरूक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले सहभागी सबै प्रशिक्षक, अतिथि र युवाहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा प्रशिक्षक जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख श्री रोहितकुमार शाही ले ट्राफिक नियम पालनाको महत्व, सडक दुर्घटना न्यूनीकरणका उपाय र सुरक्षित यात्राबारे प्रशिक्षण दिनुभयो। त्यसैगरी जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख श्री राधाकृष्ण दास ले वन संरक्षण, वातावरणीय सन्तुलन र दिगो विकासमा युवाको भूमिकाबारे प्रकाश पार्नुभयो।
मेटलाइफ नेपाल सुर्खेतका प्रतिनिधि श्री दिलिप जंग शाही ज्यूले बीमाको महत्व, जीवन सुरक्षामा बीमाको भूमिका र वित्तीय जोखिम व्यवस्थापनबारे जानकारी दिनुभयो।
कार्यक्रममा करिब ६० जना युवाहरूको सक्रिय सहभागिता रहेको पुर्व अध्यक्ष दिलिपजङ शाहले बताए । सहभागी युवाहरूले कार्यक्रम अत्यन्त ज्ञानवर्धक र व्यवहारिक रहेको प्रतिक्रिया दिएको शाहले बताए ।
समग्रमा, समाजका विविध क्षेत्रलाई समेटेर आयोजित यस किसिमका सचेतनामूलक कार्यक्रमहरूले युवामा जिम्मेवारीबोध बढाउनुका साथै सुरक्षित, सचेत र दिगो समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।







