रुकुम पश्चिम । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले विद्यार्थीलाई आफ्नो भविष्य निर्माणप्रति गम्भीर र प्रतिबद्ध भएर अघि बढ्न आग्रह गरेकी छन्।
शुक्रबार मुसिकोट नगरपालिका–५ स्थित यमुनानन्द नमुना माध्यमिक विद्यालयले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री रोकाले विद्यार्थीको भविष्य निर्माणमा अभिभावक, शिक्षक र समाजको ठूलो लगानी रहेको बताइन्।
अभिभावकले छोराछोरीको उज्ज्वल भविष्यका लागि स्वदेश तथा विदेशमा मेहनत गरिरहेको उल्लेख गर्दै उनले विद्यार्थीले अभिभावकको त्याग र शिक्षकको मेहनतलाई बुझेर अध्ययनमा केन्द्रित हुनुपर्ने बताइन्। पछिल्लो समय युवापुस्तामा सकारात्मक सोचभन्दा नकारात्मक प्रवृत्ति बढ्दै गएको भन्दै त्यसबाट सचेत रहनसमेत उनले आग्रह गरिन्।
मन्त्री रोकाले यमुनानन्द नमुना माध्यमिक विद्यालयले शैक्षिक तथा भौतिक क्षेत्रमा गरेको प्रगतिप्रति शुभकामना व्यक्त गर्दै विद्यालयको थप विकासका लागि आफ्नो जिम्मेवारीको क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
आफू मुसिकोट नगरपालिकाकै स्थानीय बासिन्दा भएको उल्लेख गर्दै उनले पदमा रहे पनि नरहे पनि विद्यालयको विकासमा निरन्तर सहयोग र सहकार्य गर्ने बताइन्।
“म जिम्मेवारीमा रहँदा होस् वा नरहँदा, म यही नगरपालिकाको स्थानीय बासिन्दा हुँ। विद्यालयको विकासका लागि मेरो तर्फबाट हुने सहयोग, सहकार्य र पहलमा कमी हुने छैन,” उनले भनिन्।
विद्यालयले उठाएका समस्या समाधानका लागि आफू गम्भीर रहेको बताउँदै मन्त्री रोकाले चालु आर्थिक वर्षमा नयाँ योजना थप्न कठिन भए पनि स्वीकृत योजनाको प्रभावकारी कार्यान्वयन र सम्भावित बजेट व्यवस्थापनमार्फत आवश्यक समस्या सम्बोधनका लागि पहल गर्ने बताइन्।
यमुनानन्द नमुना माध्यमिक विद्यालय प्रदेश सरकारको ‘एक पालिका, एक नमुना विद्यालय’ कार्यक्रमअन्तर्गत छनोट भएको विद्यालय हो। कार्यक्रममा विद्यालय परिवारले मन्त्री रोकालाई स्वागत तथा सम्मान गर्दै विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोगका लागि आग्रह गरेको थियो।







