निर्वाचनको मुखमा दलित अपमान फैलाउने षड्यन्त्र : नेकपा कालिकोट

  ।   २७ माघ २०८२, मंगलवार २३:०७

कालिकोट । सामाजिक सञ्जालमा दलित समुदायमाथि अपमानजनक अभिव्यक्ति फैलाइएको घटनाप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटले कडा आपत्ति जनाएको छ। पार्टीले प्रतिनिधिसभा निर्वाचनमा कालिकोटबाट उम्मेदवार बनेका क। महेन्द्रबहादुर शाहीको नाम जोडेर फेक आइडी प्रयोग गरी गरिएको दुष्प्रचार सुनियोजित र योजनाबद्ध रहेको ठहर गरेको छ।

डम्बरहादुर शाही र चित्रसिंह गाउँलेद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल फेसबुकमा फेक आइडी बनाएर दलित समुदायलाई लक्षित गर्दै अपमानजनक स्टाटस र कमेन्टहरू पोस्ट गरिएको र त्यसलाई पार्टी तथा उम्मेदवारसँग जोडेर गलत प्रचार गरिएको उल्लेख छ। यस्तो गतिविधि निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सद्भाव बिगार्ने र राजनीतिक लाभ लिन खोजिएको षड्यन्त्र भएको नेकपाको दाबी छ।

विज्ञप्तिमा भनिएको छ, “दलित समुदायको हक, अधिकार र सम्मानका लागि ज्यान हत्केलामा राखेर संघर्ष गर्दै आएको पार्टी र नेतृत्वमाथि यस किसिमको सोच आरोपित गर्नु निन्दनीय मात्र होइन, अस्वीकार्य पनि हो।” पार्टीले दलित समुदायप्रति अपमानजनक र पूर्वाग्रही सोच राख्ने व्यक्ति नेकपाको सदस्य हुनै नसक्ने स्पष्ट पारेको छ।

नेकपाले फेक आइडी प्रयोग गरी सामाजिक सद्भाव भड्काउने, समुदायलाई उत्तेजित बनाउने र अश्लील तथा अराजक गतिविधि गर्ने व्यक्तिहरूको पहिचान गरी कानुन बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, राजनीतिक विषयलाई जातीयकरण नगर्न र अपराधलाई राजनीतिक आवरण नदिन सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।

स्थानीय नागरिक समाजका प्रतिनिधिहरूले पनि सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै तथ्यको पुष्टि नगरी फैलाइने सामग्रीले समाजमा गलत सन्देश जाने बताएका छन्। उनीहरूले निर्वाचनजस्ता संवेदनशील समयमा जिम्मेवार अभिव्यक्ति र सत्यतथ्यमा आधारित बहस आवश्यक रहेकोमा जोड दिएका छन्।

नेकपाले अन्त्यमा दलित समुदायको सम्मान, समानता र सामाजिक एकता कायम राख्न सबै राजनीतिक दल, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई सहकार्य र सचेतना अपनाउन आह्वान गरेको छ।

Next Post

जातीयताको नाममा भ्रम नफैलाउन विष्णु विश्वकर्माको आग्रह

२७ माघ २०८२, मंगलवार २३:०७
कालिकोट । राष्ट्रियसभा सदस्य तथा नेपाली कम्युनिष्ट पार्टीका नेता विष्णु बहादुर विश्वकर्माले चुनावी माहोलमा जातीयता र क्षेत्रीयताको नाममा भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्। मंगलबार कालिकोटको रास्कोटमा दलित मुक्ति मोर्चा कालिकोटले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विप्लव नेतृत्वको नेकपा माओवादी) का नेता खड्ग बहादुर विश्वकर्मातर्फ संकेत गर्दै यस्तो आरोप लगाएका […]