कालिकोटमा चुनावी तयारी : ७४ मतदान स्थलमा , ७ सय ६० कर्मचारी खटाइने

  ।   ११ फाल्गुन २०८२, सोमबार २०:०४

कालिकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कालिकोटमा व्यापक तयारी पूरा गरिएको छ। आगामी निर्वाचनका लागि जिल्लाभर ७ सय ६० जना कर्मचारी परिचालन गरिएका छन् भने सुरक्षा प्रबन्धसमेत कडा पारिएको छ।

मुख्य निर्वाचन अधिकृत कलप्रसाद दाहालका अनुसार १ सय २७ वटा मतदान केन्द्रमा कर्मचारी खटाइनेछन्। आवश्यक सम्पूर्ण निर्वाचन सामग्री जिल्लामा आइपुगेको र ती सामग्री सम्बन्धित मतदान केन्द्रतर्फ पठाउने कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

फागुन १३ र १४ गते निर्वाचनमा खटिने कर्मचारीहरूलाई मतदान प्रक्रिया, मतदाता पहिचान, मतपेटिका व्यवस्थापन तथा आचारसंहिता सम्बन्धी विषयमा प्रशिक्षण दिइने कार्यतालिका तय गरिएको छ। प्रशिक्षणपछि कर्मचारीहरूलाई आफ्नो–आफ्नो मतदान केन्द्रमा खटाइनेछ।

जिल्लामा ८४ हजार ६ सय ४६ जना मतदाता रहेका छन्। यसपटक मतदाता सहभागिता बढाउन विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

सुरक्षा व्यवस्थाका दृष्टिले जिल्लाका ७४ वटा मतदानस्थल अतिसंवेदनशील श्रेणीमा राखिएका छन्। ती क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक परेमा नेपाली सेनासमेत परिचालन गरिने तयारी गरिएको छ। संवेदनशील क्षेत्रमा विशेष निगरानी, नियमित गस्ती र सुरक्षा घेरा कडा बनाइने प्रशासनले जनाएको छ।

यसैबीच, राजनीतिक दलहरू पनि घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै मतदातालाई मतदानमा सहभागी हुन आग्रह गरिरहेका छन्। शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने लक्ष्यका साथ प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालय सक्रिय रूपमा लागिपरेका छन्।

Next Post

युवा मानवअधिकार रक्षक : मतदानको अधिकार र कर्तव्य अध्यक्ष - पुजा दमाई

११ फाल्गुन २०८२, सोमबार २०:०४
सुर्खेत । मानव अधिकार प्रत्येक व्यक्तिलाई केवल मानव भएकै आधारमा प्राप्त हुने जन्मसिद्ध, मौलिक तथा प्राकृतिक अधिकार हुन्। यी अधिकारहरू बिना कुनै भेदभाव सबैलाई समान रूपमा लागू हुन्छन् र व्यक्तिको जीवन, स्वतन्त्रता, समानता, सम्मान र सुरक्षाको प्रत्याभूति गर्छन्। लोकतान्त्रिक समाजमा मतदानको अधिकार पनि त्यही मौलिक अधिकारको हिस्सा हो। राष्ट्रिय युवा […]