रसुवाको भीषण बाढी १७ जनाको मृत्यु पुष्टि, ४०३ सम्पर्कविहीन: उद्धार र खोजी तीव्र

  ।   १० भाद्र २०८३, बुधबार १९:४९

काठमाडौं । रसुवामा बुधवार बिहान आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति पुगेको आशङ्का गरिएको छ। दिउँसो ३ बजेसम्मको विवरणअनुसार कम्तीमा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने बाढीबाट प्रभावित क्षेत्रको विस्तृत क्षतिको विवरण आउन बाँकी रहेको छ।

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको असामान्य बाढीले रसुवा मात्र नभई नुवाकोट, धादिङ, गोरखा र चितवनसम्मका नदीतटीय क्षेत्रलाई उच्च जोखिममा पारेको छ। सरकारले त्रिशूली नदीको तटीय क्षेत्रमा चितवनसम्म नै खतरा हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा अनावश्यक यात्रा नगर्न र नगराउन समेत अनुरोध गरेको छ।

४०३ जना सम्पर्कविहीन

बाढीले प्रभावित नुवाकोटको केन्द्रीय कारागार
त्रिशूली (नुवाकोट), रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारम

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ४०३ जना सम्पर्कविहीन रहेका छन्। तीमध्ये ६२ जना नेपाली र ३४१ जना विदेशी नागरिक रहेका छन्।

सम्पर्कविहीनमध्ये २०० जना महिला र २०३ जना पुरुष रहेको जनाइएको छ। विदेशी नागरिकमध्ये १३३ जना भारतका, ४७ जना अमेरिकाका र ३३ जना बेलायतका नागरिकसहित विभिन्न देशका पर्यटक रहेका छन्।

तीमध्ये अधिकांश कैलाश–मानसरोवर यात्रामा रहेका हुन सक्ने भन्दै पर्यटन व्यवसायी तथा टुर अपरेटरलाई उद्धृत गर्दै बोर्डले जनाएको छ। सम्पर्कविहीनहरूको खोजी, पहिचान र उद्धारका लागि सम्बन्धित निकायले समन्वय तीव्र पारेका छन्।

बाढीपछि ११४ जनाको हवाई उद्धार

बाढी आएलगत्तै नेपाली सेना र निजी हेलिकप्टर कम्पनीहरूले प्रभावित क्षेत्रबाट ११४ जनाको हवाई उद्धार गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको र निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरूले २९ जनाको उद्धार गरेका हुन्।

नेपाली सेनाले टिमुरेबाट ६० जनालाई धुन्चे, १३ जनालाई त्रिशूली तथा मैलुङ, बेत्रावती र त्रिशूली क्षेत्रबाट अन्य व्यक्तिहरूलाई उद्धार गरी काठमाडौँ पुर्‍याएको जनाएको छ।

त्यस्तै, विभिन्न निजी हेलिकप्टर कम्पनीहरूले घाइते तथा अलपत्र परेकाहरूलाई उद्धार गरी काठमाडौँका टीचिङ अस्पताल र वीर अस्पताललगायतका स्वास्थ्य संस्थामा पुर्‍याएका छन्। उद्धार कार्य अझै जारी रहेको बताइएको छ।

तिब्बततर्फको हिमचट्टान पहिरोबाट बाढी आएको प्रारम्भिक अनुमान

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको बाढीको मुख्य कारण तिब्बततर्फ गएको हिमचट्टान पहिरो हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ।

प्राधिकरणका अनुसार स्याटलाइट तस्बिरको प्रारम्भिक विश्लेषणबाट नेपाल–चीन सीमाको रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वी क्षेत्रमा घटना सुरु भएको देखिएको छ।

प्राधिकरणले नेपाल–चीन सीमामा गएको हिमचट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको भीषण बाढी आएको र उक्त बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको जनाएको छ।

ल्हेन्दे खोलासँग जोडिएको क्षेत्रमा गत वर्ष पनि भीषण बाढी आउँदा ठूलो क्षति भएको थियो। यसपटक पुनः सोही क्षेत्रबाट विनाशकारी बाढी आएपछि नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रको बढ्दो प्राकृतिक जोखिमप्रति चिन्ता थपिएको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)  का विज्ञहरूले पनि हिमपहिरोका कारण नदी थुनिएर अचानक ठूलो मात्रामा पानीको बहाव तलतिर आएको हुन सक्ने सम्भावना औँल्याएका छन्।

इसिमोडका विज्ञहरूका अनुसार हिमाली क्षेत्रमा हुने हिमचट्टान तथा हिमपहिरो, अस्थिर भू–बनोट, हिमताल तथा नदी प्रणालीमा हुने आकस्मिक परिवर्तन र वर्षायाममा हुने भारी वर्षा यस्ता विपद्का प्रमुख जोखिम हुन्। नेपाल–चीन सीमाको माथिल्लो क्षेत्रमा अझै नदी अवरुद्ध रहेको आशङ्का रहेकाले दोस्रो चरणको बाढी आउन सक्ने सम्भावनालाई पनि नकार्न नसकिने बताइएको छ।

किन दोहोरिरहन्छन् नेपाल–चीन सीमामा विनाशकारी बाढीपहिरो

विज्ञहरूका अनुसार नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्र अत्यन्तै संवेदनशील भूगोलमा पर्दछ। तीव्र भिरालोपन, कमजोर तथा अस्थिर भू–बनोट, हिमनदी र हिमतालको परिवर्तनशील अवस्था तथा मनसुनका बेला हुने अत्यधिक वर्षाले आकस्मिक बाढी र पहिरोको जोखिम बढाउने गरेको छ।

तिब्बती क्षेत्रमा रहेका हिमताल तथा माथिल्लो जलाधार क्षेत्रमा हिमपहिरो वा हिमचट्टान खस्दा नदी थुनिन सक्छ। त्यसरी थुनिएको पानी एक्कासि फुट्दा ठूलो मात्रामा पानी, ढुङ्गा, माटो र गेग्रानसहितको विनाशकारी बाढी तल्लो तटीय क्षेत्रमा पुग्ने जोखिम रहन्छ।

नेपालतर्फ नदी किनार र भिरालो भूभागमा रहेका बस्ती, सडक, पुल तथा अन्य पूर्वाधार यस प्रकारका आकस्मिक बाढीबाट सबैभन्दा बढी प्रभावित हुने गरेका छन्। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रको तापक्रम वृद्धि र हिमनदी तथा हिमतालमा भइरहेको परिवर्तनले समेत जोखिम थप बढाएको विज्ञहरूको भनाइ छ।

भारतद्वारा सहयोगको प्रतिबद्धता

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताएका छन्।

मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग बाढीको अवस्थाबारे कुरा गरेको जनाउँदै उद्धार तथा राहतका लागि आवश्यक सहयोगमा भारत नजिक रहेर समन्वय गर्न तयार रहेको बताएका हुन्।

रसुवामा आएको बाढीपछि खोजी, उद्धार र राहत कार्य तीव्र पारिएको भए पनि दुर्गम हिमाली भूगोल, अवरुद्ध सडक र निरन्तरको जोखिमका कारण प्रभावित क्षेत्रको यथार्थ क्षतिको विवरण संकलन चुनौतीपूर्ण बनेको छ। सरकारी निकायका अनुसार मृतक, घाइते, सम्पर्कविहीन र भौतिक क्षतिको संख्या थप स्पष्ट हुन अझै समय लाग्नेछ।

स्रोत : बीबीसी नेपाली सेवा र राष्ट्रिय समाचार समिति रासस

Next Post

भोटेकोशी बाढीबाट ५० जनाभन्दा बढीको मृत्यु : प्रधानमन्त्री शाह

१० भाद्र २०८३, बुधबार १९:४९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा बुधवार बिहान आएको भीषण बाढीबाट हालसम्म ५० जनाभन्दा बढी नेपाली नागरिकको मृत्यु भएको बताएका छन्। आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले सिङ्गो देशलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन्। बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त […]

सम्बन्धित शीर्षक