कालिकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालिकोटले जीवनराज देवकोटालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको छ। सामाजिक क्षेत्र, पत्रकारिता तथा संगठन निर्माणमा सक्रिय रहँदै आएका देवकोटालाई पार्टीले जिल्ला तहको जिम्मेवारी दिएको हो।
देवकोटा विगतदेखि नै सामाजिक गतिविधि, युवा नेतृत्व तथा जनसरोकारका विषयमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। कर्णाली जेसीज कालिकोटमा सदस्य हुँदै उपाध्यक्ष र वर्ष २०२५ का महासचिवको जिम्मेवारी सम्हालेका देवकोटाले जेसीजबाट प्राप्त नेतृत्व विकास, संगठन सञ्चालन र सामाजिक अनुभवलाई अब राजनीतिक क्षेत्रमा प्रयोग गर्ने भएका छन्।
“जेसीजले मलाई नेतृत्व गर्न, समाज बुझ्न र फरक विचार भएका व्यक्तिसँग समन्वय गर्न सिकायो। त्यहाँबाट प्राप्त नेतृत्व विकास र सामाजिक अनुभवलाई अब राजनीतिक क्षेत्रमा प्रयोग गर्दै जनताको पक्षमा काम गर्ने प्रयास हुनेछ,”देवकोटाले भने।
रास्वपाको जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारी पाएसँगै देवकोटाले संगठन विस्तारसँगै स्थानीय नागरिकका समस्या र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय देवकोटा पत्रकारिताको माध्यमबाट जनचेतना अभिवृद्धि तथा सामाजिक विषय उठानमा योगदान पुर्याउँदै आएका छन्। स्थानीय सवाल, नागरिकका समस्या तथा सामाजिक सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउन उनको भूमिका रहँदै आएको छ।
पार्टीले दिएको नयाँ जिम्मेवारीसँगै देवकोटाले रास्वपाको नीति, सिद्धान्त, संगठनात्मक मूल्य–मान्यता तथा जनअपेक्षाअनुसार इमानदारी, निष्ठा र सक्रियताका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
देवकोटाले आफूलाई दिइएको जिम्मेवारीलाई व्यक्तिगत अवसरभन्दा पनि जनसेवा, संगठन सुदृढीकरण र सकारात्मक राजनीतिक संस्कार निर्माण गर्ने अवसरका रूपमा लिएको बताएका छन्।







