जुम्ला । चन्दननाथ बाल सेवा सञ्जालको आयोजना र युवा अधिकार तथा मानव अधिकार रक्षक सञ्जाल जुम्लाको सहकार्य,किर्डाक नेपालको सहयोग,नेपाल रेडक्रस सोसाइटी जुम्ला,जिल्ला प्रहरी कार्यालय जुम्लाको साझेदारीमा सदरमुकाम स्थित बजार सरसफाइ कार्यक्रम गरिएको छ ।
नगरपालिकाले सदरमुकाम सरसफाइ अभियान थालेको छ । बिहीबार बिहानै नगरपालिकाको भवनबाट प्रारम्भ गर्दै सदरमुकामभरि फोहोर उठाएर परिक्रमा गरिएको छ ।
विशेषगरि प्लास्टिक र कागजजन्य फोहोरलाई व्यवस्थापन गर्न यो अभियान गरिएको छ । सदरमुकामभरि यत्रतत्र छरिएर रहेर प्लास्टिक र कागज सहि रुपमा व्यवस्थापन गर्न चन्दननाथ नगरपालिकाले प्लास्टिकजन्य फोहोर रहित नगरपालिका बनाउने लक्ष्य लिएको छ ।
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले भने धेरै प्रयास पछि नगरपालिकालाई प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न लागेका हौं । राष्ट्रिय आविष्कार केन्द्रबाट प्लास्टिकजन्य फोहोरको व्यवस्थापन गर्ने मेसिन नगरपालिकाले ल्याइसकेको छ । चाडैं नै उक्त मेसिनलाई प्रयोगमा ल्याई नगरपालिका मात्र नभई तातोपानी,गुठिचौर,पातारासीका केही क्षेत्रको प्लास्टिकजन्य फोहोरलाई दररेट कायम गरेर व्यवस्थापन गर्न सकिन्छ । चन्दननाथ नगरपालिकालाई आगामी चैत बैशाखसम्म पूर्ण रुपमा प्लास्टिकजन्य फोहोरबाट मुक्त बनाउने लक्ष्य रहेको नगरप्रमुख कठायतले भने ।
त्यस्तै नगर प्रशासकीय अधिकृत टेकबहादुर बुड्थापाले सबै फोहोर उठाउन सहयोग गर्ने सबै निकायलाई धन्यवाद ज्ञापन गर्दै प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी आफैं बोध गर्न सके मात्रै स्थाई रुपमा यसको समाधान गर्न सकिने बताए ।