कालिकोट । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिका अध्यक्ष प्रेमराज सिम्खडाले रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।
नगरप्रमुख शाहीले सार्वजनिक कार्यक्रममा आफूलाई ‘प्रहरी हुँ’ भन्ने अभिव्यक्ति दिँदै पत्रकारलाई धम्की दिएको भन्दै अध्यक्ष सिम्खडाले सामाजिक सञ्जालमार्फत यस्तो बोलीलाई प्रेस स्वतन्त्रतामाथिको हमला र लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघनको संज्ञा दिएका छन्।
“समाचारप्रति असन्तुष्टि भए कानुनी प्रक्रिया अपनाउने बाटो छ,” सिम्खडाले लेखेका छन्, “तर धम्कीपूर्ण शैली अवलम्बन गर्नु निन्दनीय र आपत्तिजनक छ।”
उनले जनप्रतिनिधिले ‘बन्दुक र बारुद’को भाषा प्रयोग गर्नु अराजकताको संकेत भएको उल्लेख गर्दै यस्तो अभिव्यक्ति असंवैधानिक, गैरकानुनी र जनादेशको अपमान भएको टिप्पणी गरेका छन्। “प्रहरीको भूमिका र अधिकार संविधानले स्पष्ट पारिसकेको अवस्थामा आफूलाई प्रहरी ठान्नु कानुनी मर्यादाविपरीतको दुस्साहस हो,” उनको भनाइ छ।
सिम्खडाले पत्रकारले जनप्रतिनिधिको आलोचना वा प्रश्न गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै लेखेका छन्, “पत्रकारको समाचार मन नपरेको भन्दै धम्की दिने प्रवृत्ति तानाशाही मानसिकताको प्रतिबिम्ब हो। यस्तो प्रवृत्तिले गणतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने खतरा पैदा गर्छ।”
“अत्यधिक जिम्मेवारीको पदमा बसेर बन्दुक र बारुदको भाषा प्रयोग गर्नु नागरिक सुरक्षामाथिको खतरा हो। यस्तो बोलाइले न सामाजिक सद्भाव बढाउँछ, न जनप्रतिनिधिप्रति जनताको विश्वास बलियो बनाउँछ,” उनले लेखेका छन्।
सिम्खडाले आलोचना सहन नसक्नु कमजोरीको संकेत भएको उल्लेख गर्दै यदि असन्तुष्टि छ भने तथ्य र तर्कका आधारमा जवाफ दिनु पर्ने बताएका छन्। प्रेस काउन्सिल वा अदालत जाने बाटो खुला रहेको जनाउँदै उनले धम्की र धाकधम्कीको भाषा प्रयोग गर्नु तानाशाही प्रवृत्तिको घमण्ड भएको टिप्पणी गरेका छन्।
“बन्दुक बोकेको घमण्ड देखाउने हो भने जनताको मतबाट आएको जनादेशको बेइज्जती हुन्छ,” सिम्खडाले लेखेका छन्, “यस्तो अभिव्यक्तिले राजनीतिक असहिष्णुता र गम्भीर दण्डहीनता जन्माउँछ।”
उनले नगर प्रमुख धर्मराज शाहीको अभिव्यक्तिको सर्वत्र भर्त्सना र कानुनी प्रतिवाद आवश्यक रहेको उल्लेख गर्दै प्रेस र नागरिक समाज एकजुट हुनुपर्ने बताएका छन्। “यस्ता अभिव्यक्तिलाई सामान्यीकरण गर्नु लोकतन्त्रको मेरुदण्ड तोड्नु हो,” सिम्खडाको भनाइ छ।