कर्णालीमा एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाबाट मन्त्री चयन अझै बाँकी

  ।   ३ भाद्र २०८३, बुधबार २०:०८

सुर्खेत । कर्णाली प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा टुङ्गिएसँगै नेकपा एमालेले आफ्नो भागमा परेका तीनवटै मन्त्रालयमा मन्त्री नियुक्त गरेको छ। एमालेबाट नियुक्त मन्त्रीहरूले बुधबार पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।

प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

एमालेबाट टेकराज पछाईले आर्थिक मामिला तथा योजनामन्त्री, जीतबहादुर मल्लले सामाजिक विकासमन्त्री र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकासमन्त्रीका रूपमा शपथ लिएका छन्।

मन्त्रालयको भागबन्डा टुङ्गिएपछि एमालेले आफ्नो भागमा परेका मन्त्रालयलाई पूर्णता दिने गरी बुधबार नै मन्त्रीहरूको नाम अन्तिम गरेको थियो। सोहीअनुसार तीनै जनालाई मन्त्री नियुक्त गरी शपथ गराइएको हो।

यससँगै एमालेको भागमा रहेका तीन मन्त्रालयले नेतृत्व पाएका छन्। तर, सत्ता गठबन्धनको अर्को घटक नेकपाले भने आफ्नो भागमा परेका मन्त्रालयका लागि अझै मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन।

नेकपाभित्र मन्त्री छनोटका विषयमा छलफल जारी रहेकाले कर्णाली प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउन भने अझै केही समय लाग्ने देखिएको छ। मन्त्रालयको बाँडफाँटपछि मन्त्री नियुक्ति र शपथको क्रम अघि बढेसँगै प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

Next Post

कर्णाली स्थापना दिवस ‘समस्याको खाल्डो’ होइन, समृद्धिको केन्द्र बनाऔँ

३ भाद्र २०८३, बुधबार २०:०८
सुर्खेत । कर्णाली प्रदेश स्थापना दिवस–२०८३ विभिन्न कार्यक्रमसहित वीरेन्द्रनगरमा मनाइएको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षता तथा प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा कर्णालीको विकास, प्राकृतिक स्रोतको उपयोग र समृद्धिका विषयमा जोड दिइएको छ। समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले कर्णालीलाई सधैँ समस्याग्रस्त क्षेत्रका रूपमा हेर्ने सोच बदल्नुपर्ने बताए। […]