मुगु । समाजसेवामा निरन्तर सक्रिय अक्कल कोपिला फाउन्डेसनले मुगु जिल्लाका विभिन्न दुर्गम बस्तीहरूमा अध्ययनरत विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा एकल वृद्ध–वृद्धालाई लक्षित गरी न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ। फाउन्डेसनका संस्थापक बोहराकी धर्मपत्नी कोपिलाको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले स्थानीय समुदायमा ठूलो उत्साह र आशा जगाएको छ।

स्पेनको कोस्टा ब्लाङ्कामा बसोबास गर्दै आएका बोहरा दम्पतीले आफ्नै बाल्यकालमा भोगेका दुःख, कष्ट र संघर्षलाई स्मरण गर्दै गृह जिल्ला मुगुमा निरन्तर सहयोग गर्दै आएका छन्। दुर्गम गाउँबस्तीमा शिक्षा, स्वास्थ्य र आधारभूत सुविधाको अभावलाई नजिकबाट बुझेका उनीहरूले दर्जनौँ बस्ती र विद्यालय पुगेर विद्यार्थीहरूलाई कापी–कलम, शैक्षिक सामग्रीका साथै जाडोबाट जोगिन न्यानो कपडा वितरण गरेका हुन्।
फाउन्डेसनले विशेष गरी छायानाथधारा नगरपालिकाका विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गर्दै आएको छ भने अपाङ्गता भएका व्यक्ति र एकल वृद्ध–वृद्धालाई समेत आफूले सक्ने सहयोग निरन्तर प्रदान गरिरहेको संस्थापक बोहराले बताए। केही दिनअघि मात्रै छायानाथधारा नगरपालिका वडा नं. १० मा स्थानीयवासीले भोग्दै आएको खानेपानीको गम्भीर समस्यालाई मध्यनजर गर्दै पानीको धारा निर्माण सहयोग गर्नुका साथै करिब १७२ जना विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको थियो।
कार्यक्रमका क्रममा फाउन्डेसनकी प्रतिनिधि कोपिलाले भनिन्, “हामीले सक्ने जति सहयोग मुगु जिल्लाका लागि निरन्तर गर्नेछौँ। म सुगम क्षेत्रामा हुर्केको भएतापनी विकटका समुदायलाई निरन्तर सहयोग गर्ने बताइन् ।







