काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा बुधवार बिहान आएको भीषण बाढीबाट हालसम्म ५० जनाभन्दा बढी नेपाली नागरिकको मृत्यु भएको बताएका छन्।
आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले सिङ्गो देशलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन्।
बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै, घाइते तथा उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्री शाहले बाढीको खबर प्राप्त हुनासाथ सरकारले उद्धार तथा खोजी कार्यमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको बताएका छन्। उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीलाई प्रभावित क्षेत्रमा तत्काल परिचालन गरिएको छ।
“बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको छ,” प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।
उनका अनुसार नेपाली सेनाका हेलिकप्टरसहित विभिन्न माध्यमबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको उद्धार भइरहेको छ। उद्धार गरिएका घाइतेलाई काठमाडौँ ल्याएर उपचारको व्यवस्था मिलाइएको छ।
प्रधानमन्त्रीले अहिलेको अवस्थामा घाइतेको उपचार, बेपत्ता नागरिकको खोजी र प्रभावितको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। उद्धार तथा खोजी कार्यलाई अझ तीव्र बनाउने र आवश्यकताअनुसार रातभर पनि उद्धार जारी राखिने उनको भनाइ छ।
बाढीबाट प्रभावित नागरिकका लागि खानेपानी, खाद्यान्न, औषधि तथा अस्थायी बसोबासको व्यवस्था मिलाउने र क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिने सरकारले जनाएको छ।
प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई राज्यले एक्लो महसुस हुन नदिने भन्दै धैर्य गर्न आग्रह गरेका छन्।
“यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ,” उनले भनेका छन्।
भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र आसपासका जिल्लामा ठूलो क्षति पुगेको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको सरकारी निकायले जनाएका छन्।
रसुवाको भीषण बाढी १७ जनाको मृत्यु पुष्टि, ४०३ सम्पर्कविहीन: उद्धार र खोजी तीव्र







