कर्णालीमा उत्पादन भएको अदुवा र बेसार विदेश पुग्न थाले

  ।   ५ कार्तिक २०८१, सोमबार १५:४२

सुर्खेत । कर्णालीमा उत्पादन भएको अदुवा युरोपसम्म पुग्न थालेको छ । युरोपबाट माग आएपछि किसानले अदुवा उत्पादनलाई पनि वृद्धि गर्न थालेका छन् । अदुवासँगै यहाँ उत्पादन भएको बेसार पनि विदेश निर्यात हुन थालेको हो ।

किसानले उत्पादन गरेको अदुवा खरिद गरेर सुर्खेतको भेरीगंगा नगरपालिकास्थित कालिदमारमा रहेको अदुवा प्रशोधन उद्योगले विदेशसम्म निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशबाट अदुवाको माग धेरै आउने गरेको छ । यसकारण पनि यो उद्योगले किसानबाट खरिद गरिएको अदुवा र बेसारलाई प्रशोधन गरेर युरोपसम्म निर्यात गरिरहेको हो । पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । तर कालिदमारस्थित द अर्गानिक भ्यालीमा रहेको अदुवा प्रशोधन उद्योगले अदुवा र बेसारलाई प्रशोधन गर्न थालेपछि विदेशमा बढी निर्यात हुन थालेको हो ।

कर्णालीमा उत्पादन हुने अदुवा विषादीरहित, अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपबाट यसको माग बढी भइरहेको उद्योगका सञ्चालक समिर नेवाले बताए । उनका अनुसार जर्मनीबाट समेत अदुवाको माग आइरहेको छ । एक सिजनमा यो उद्योगबाट औसतमा ६ लाख युरोबराबरको अदुवा र बेसार निर्यात हुँदै आएको छ ।

उद्योग सञ्चालक नेवाले भने, ‘उत्पादन धेरै भएको बेलामा त हामीले १२ लाख युरोबराबरको अदुवा निर्यात गरेका छौं, तर मागअनुसार उत्पादन नै हुन सकेको छैन ।’ किसानबाट मागअनुसार उत्पादन नहुँदा बर्सेनि औसतमा ६ लाख युरोबराबरको अदुवा र बेसार विदेश निर्यात भइरहेको उनले बताए ।

विदेशबाट माग धेरै भएकाले बजारीकरणको समस्या नभएको भन्दै उनले किसानलाई उत्पादन बढाउनका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘बिक्रीको समस्या छैन, हामीले विदेशसम्म निर्यात गर्न थालेका छौं । किसानको उत्पादनलाई हामी खरिद गरिदिन्छौं, बरु अब उत्पादन बढाउनुपर्छ ।’ उद्योगमा बर्सेनि १५ सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ । उद्योगमा हाल १२ सय मेट्रिकटन अदुवा र ३ सय मेट्रिकटनसम्म बेसार प्रशोधन हुने गरेको छ । ‘कर्णालीमा अर्गानिक अदुवा र बेसार उत्पादन हुन्छ’ उनले भने, ‘हामीले प्रशोधन गरेको अदुवा र बेसारमा विदेशीको विश्वास बढ्दो छ, विषादीरहित शुद्ध उत्पादन भएकाले पनि युरोपबाट माग धेरै आइरहेको छ ।’

सल्यानमा सबैभन्दा धेरै अदुवा उत्पादन

अदुवा उत्पादनका लागि कर्णालीको हावापानी उपयुक्त छ । यहाँका सुर्खेत, सल्यान र रुकुमलगायतका जिल्लामा अदुवा उत्पादन हुन्छ । तर उद्योगका अनुसार सबैभन्दा बढी अदुवा सल्यानमा उत्पादन हुन्छ । सल्यानबाट मात्र एक सिजनमा १२ सय मेट्रिकटनसम्म अदुवा उद्योगमा आउने गरेको उद्योगका सञ्चालक नेवाले जानकारी दिए । उनका अनुसार रुकुमबाट ८ सय र सुर्खेतबाट २ सय मेट्रिकटनसम्म अदुवा उद्योगमा आउने गरेको छ ।

उत्पादन धेरै भएको वर्ष उद्योगमा बढीमा २३ सय मेट्रिकटनसम्म अदुवा र बेसार आउने गर्दछ । उद्योगका सञ्चालक नेवाले भने, ‘पहिला प्रशोधन नहुँदा अदुवा र बेसारले मूल्य पाएन, त्यो बेला किसानले बजारको समस्या भोगे । अचेल त्यो समस्या छैन, हामीले किसानलाई उत्पादन बढाउन प्रोत्साहन गरिरहेका छौं ।’ उत्पादनलाई वृद्धि गर्न सकेमा विदेशको माग पनि धान्न सकिने नेवाको भनाइ छ । यो उद्योगमा अदुवा र बेसार मात्र होइन, सिस्नो र टिमुर पनि प्रशोधन हुन्छ । उद्योगले अचेल किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको हो । किसानबाट खरिद गरिएको सिस्नो र टिमुरलाई प्रशोधन गरेर बिक्री गरिन्छ ।

उद्योगमा सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाइन्छ । त्यसलाई प्याकिङ गरेर निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ । यस्तै अदुवा र बेसारलाई पनि उद्योगमा प्रशोधन गरेर पाउडर बनाइन्छ । यही पाउडरलाई प्याकिङ गरिन्छ । अनिमात्र अदुवा र बेसार बजारमा पठाउने गरिएको उद्योग सञ्चालक नेवाले बताए ।

उद्योगमा कार्यरत कर्मचारी टीका वलीका अनुसार विगतमा उद्योगमा अदुवा सुकाउन समस्या भए पनि अचेल त्यो समस्या हटेको छ । विगतमा यस क्षेत्रका किसानले बजारीकरणको समस्या भोगे पनि अब त्यो समस्या टरेको उद्योगको दाबी छ । अन्नपूर्ण

 

Next Post

कर्णाली सरकारले पूँजीगत तर्फ चार दशमलव ०६ प्रतिशत मात्र बजेट खर्च

५ कार्तिक २०८१, सोमबार १५:४२
सुर्खेत । चालु आर्थिक वर्ष २०८१/०८२ मा पनि कर्णाली प्रदेश सरकारले विकास (पूँजीगत) तर्फको बजेट खर्च बढाउने देखिदैन । हरेक वर्ष झैँ चालु आर्थिक वर्षमा पनि कर्णालीमा विकास (पूँजीगत) बजेट खर्च शैली परिवर्तन हुन सकेको छैन । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले पूँजीगत तर्फ चार दशमलव ०६ […]