अपडेट

विभिन्न प्रकारका विरुवा रोपेर मनाइयो प्रदेश निजामती सेवा दिवस

  ।   २९ आश्विन २०८३, बिहीबार ०९:२९

सुर्खेत । प्रदेश निजामती सेवा दिवसको अवसरमा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान परिसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशको आयोजनामा भएको कार्यक्रममा गोलमोहर, विरेन्द्रफूल र पारिजातका बिरुवा रोपिएको हो। वृक्षरोपणमार्फत हरियाली प्रवर्द्धन, वातावरण संरक्षण र रोपिएका बिरुवाको संरक्षणप्रति जिम्मेवारीबोध गराउने उद्देश्य राखिएको थियो।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्का, मन्त्रालयका सचिव, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव, डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख, कर्मचारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले प्रदेश निजामती कर्मचारीका अधिकार सुनिश्चित गर्नु र कानुनको प्रभावकारी कार्यान्वयन गर्नु महत्त्वपूर्ण रहेको बताइन्। निजामती कर्मचारी सेवा ऐनसम्बन्धी विधेयकमाथि छलफलका क्रममा विभिन्न विषयमा गम्भीर बहस गरिएको उल्लेख गर्दै उनले ऐन कार्यान्वयनका क्रममा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक सुधारका लागि पहल कानुन मामिला सभापति हुँदा गरेको बताइन्।

उनले कानुन निर्माण गर्दा साना देखिने विषयले पनि कर्मचारीको अधिकार र अवसरमा ठूलो प्रभाव पार्न सक्ने भएकाले सबै तहका कर्मचारीका समस्या र आवश्यकतालाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

मन्त्री खड्काले वृक्षरोपणलाई बिरुवा रोप्ने औपचारिकतामा मात्र सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र उचित हुर्काइमा ध्यान दिनुपर्ने बताइन्। वन संरक्षण, वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनका लागि सरकारी निकाय, कर्मचारी तथा नागरिक सबैको साझा जिम्मेवारी रहने उनको भनाइ थियो।

प्रदेश निजामती सेवा दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रमले कर्मचारीको पेसागत अधिकार र जिम्मेवारीसँगै वातावरण संरक्षणको महत्त्वलाई समेत उजागर गरेको छ। रोपिएका बिरुवाको नियमित संरक्षण र उचित व्यवस्थापन गर्न सके यसले प्रतिष्ठान परिसरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरणीय स्वच्छता कायम गर्ने छ ।

Next Post

दसौँ राष्ट्रिय खेलकुद भलिबल छनोट प्रतियोगिताबाट डोल्पा, हुम्ला र जुम्ला बाहिरिए

२९ आश्विन २०८३, बिहीबार ०९:२९
कालीकोट । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालीकोटको मान्ममा जारी कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगिताबाट डोल्पा, हुम्ला र जुम्ला बाहिरिएका छन्। प्रतियोगितामा डोल्पा दसौँ, हुम्ला नवौँ र जुम्ला आठौँ स्थानमा रहँदै छनोट प्रतिस्पर्धाबाट बाहिरिएका हुन्। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्यले सञ्चालन […]