कालीकोट । नेपाली कांग्रेस देउवा पक्षले कालीकोटमा जिल्ला अधिवेशन सम्पन्न गर्दै नगेन्द्रबहादुर विष्टलाई जिल्ला सभापतिको जिम्मेवारी दिएको छ। सभापति पदमा विष्टलाई सर्वसम्मत चयन गरिएको हो।
जिल्ला सभापतिका लागि विष्टलाई पार्टीभित्र सहमति कायम गर्दै संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले नेतृत्व चयनमा सर्वसम्मतिको बाटो रोजिएको जनाइएको छ।
अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल चयन भएका छन्। त्यस्तै, सचिवमा सविनकुमार विष्ट र नेत्रबहादुर शाही, कोषाध्यक्षमा गोर्खबहादुर बटाला तथा सहसचिवमा मनबहादुर बुढा र धीरबहादुर शाही चयन भएका छन्।
पार्टीभित्र फरक धार देखिएको अवस्थामा सम्पन्न अधिवेशनमा उल्लेख्य सङ्ख्यामा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। देउवा पक्षले यस अधिवेशनलाई कालीकोटमा आफ्नो सांगठनिक आधार मजबुत बनाउने र राजनीतिक प्रभाव विस्तार गर्ने अवसरका रूपमा लिएको छ।
नेपाली कांग्रेस एक नेताका अनुसार जिल्लाका ८२ वटै वडा, नौवटा पालिका तथा प्रदेश निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ को अधिवेशन प्रक्रिया पूरा भएपछि जिल्ला अधिवेशन सम्पन्न गरिएको हो।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गत असोज १५ गतेदेखि सुरु भएको वडा अधिवेशन प्रक्रियालाई निरन्तरता दिँदै जिल्ला तहको नेतृत्व चयन गरिएको हो ।






