सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–४ घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ। मंगलबार साँझ स्थानीयवासीले नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार फेला परेको शव अन्दाजी २५ देखि ३० वर्ष उमेरका पुरुषको हो। घटनाको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोस्ट तरंगाबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर विष्टको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाको थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा सात सदस्यीय टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। प्रहरीले शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मंगलबार राति करिब ११ बजे पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाएको जनाएको छ।
घटनाको कारण र मृतकको पहिचान खुलाउने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले मृतकबारे जानकारी भए प्रहरीलाई सम्पर्क गर्नसमेत आग्रह गरेको छ।







