अपडेट

दैलेखमा १२ वर्षीया बालिका बलात्कारको घटनामा आरोपित पक्राउ

  ।   २६ फाल्गुन २०८२, मंगलवार १९:०९

दैलेख । दैलेख जिल्लाको एक गाउँमा १२ वर्षीया बालिका आफ्नै नजिकको आफन्तबाट बलात्कारको शिकार भएको घटना सार्वजनिक भएको छ। बालिका काकाबाट बलात्कृत भएकी र गर्भवती भएको पुष्टि भएपछि मात्र घटना बाहिर आएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी गणेशबहादुर बरालका अनुसार घटनामा संलग्न आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएको छ। पीडित बालिकाले दिएको बयानअनुसार माघ १२ गते जबर्जस्ती बलात्कार गरिएको बताएकी छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानकै क्रममा रहेकाले घटनासम्बन्धी सबै विवरण सार्वजनिक नगरिएको र पीडितको गोपनीयता र सुरक्षालाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

नेपालको मुलुकी अपराध संहिता २०७४ अनुसार नाबालिकामाथि बलात्कारको अपराध प्रमाणित भए कडा सजायको व्यवस्था छ। संहिताको दफा २१९ को उपदफा (३)(ख) अनुसार दोषी ठहर भए १८ देखि २० वर्षसम्म कैद सजाय हुन सक्छ। त्यस्तै दफा २२० को उपदफा (२)(ग) अनुसार हाडनाताभित्रबाट यस्तो अपराध भएको प्रमाणित भए थप ३ देखि ६ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ।

यसैबीच महिला र बालिकामाथि हुने हिंसाविरुद्ध आवाज उठाइरहेको अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमै यस्ता घटनाले समाजमा गम्भीर चिन्ता थपेको छ। हालै सुर्खेतको गुर्भाकोट नगरपालिका–६ मा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले समाजलाई स्तब्ध बनाइरहेका बेला दैलेखको यो घटनाले पनि बालिका सुरक्षाको विषय पुनः गम्भीर रूपमा उठाएको छ।

सम्बन्धित निकायले बालिका र महिलामाथि हुने हिंसा रोक्न कानुनी कारबाहीसँगै समुदायस्तरमा सचेतना र निगरानी अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

Next Post

कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो, रास्वपा दोस्रो

२६ फाल्गुन २०८२, मंगलवार १९:०९
सुर्खेत। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको नेपाली कांग्रेस समानुपातिक मततर्फ पनि पहिलो स्थानमा रहेको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार कर्णाली प्रदेशमा समानुपातिकतर्फ नेपाली कांग्रेसले १ लाख ४१ हजार २ सय ३३ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ पाँच सिट जितेर पहिलो बनेको कांग्रेसले समानुपातिकतर्फ पनि आफ्नो […]

सम्बन्धित शीर्षक