सुर्खेत। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको नेपाली कांग्रेस समानुपातिक मततर्फ पनि पहिलो स्थानमा रहेको छ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार कर्णाली प्रदेशमा समानुपातिकतर्फ नेपाली कांग्रेसले १ लाख ४१ हजार २ सय ३३ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ पाँच सिट जितेर पहिलो बनेको कांग्रेसले समानुपातिकतर्फ पनि आफ्नो अग्रता कायम राखेको हो।
समानुपातिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १ लाख ३३ हजार ७ सय ४० मतसहित दोस्रो स्थानमा रहेको छ। रास्वपाले प्रत्यक्षतर्फ कर्णालीमा एक सिट जितेको थियो।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १ लाख २० हजार ८ सय ६३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ भने नेपाली कम्युनिस्ट पार्टी ले १ लाख ७ हजार १ सय १ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
अन्य दलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १५ हजार ७ सय ५५ मत प्राप्त गरेको छ। त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी ले ८ हजार ५ सय ३७, नेपाल मजदुर किसान पार्टी ले ५ हजार १ सय ३० र श्रम संस्कृति पार्टी ले ४ हजार ६ सय ७५ मत प्राप्त गरेका छन्।
मत परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी मत सुर्खेत जिल्लामा ३७ हजार ७ सय ४३ प्राप्त गरेको छ भने सबैभन्दा कम मत डोल्पा जिल्लामा २ हजार ५ सय ९५ प्राप्त गरेको छ।
त्यसैगरी रास्वपाले सबैभन्दा बढी मत सुर्खेतमा ५४ हजार २ सय २६ प्राप्त गरेको छ भने सबैभन्दा कम मत हुम्लामा २ हजार ३५ प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
प्रत्यक्षतर्फ कर्णाली प्रदेशमा नेपाली कांग्रेसले दैलेख–१, सुर्खेत–२, जाजरकोट, हुम्ला र मुगु मा जित हासिल गरेको थियो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सुर्खेत–२ मा विजय हासिल गरेको थियो।







