बर्दियामा नेपाल जेसीजको BEST – 2026 कार्यक्रम

  ।   ३ जेष्ठ २०८३, आईतवार १०:३७

युवा नेतृत्व, सुशासन र दक्ष सचिवालय निर्माणमा जोड

बर्दिया ।  नेपाल जेसिज अन्तर्गत वर्ष–२०२६ को महत्वपूर्ण नेतृत्व तथा व्यवस्थापनमूलक तालिम कार्यक्रम  Bringing Excellence in Secretaries and Treasurers (BEST–2026) बर्दियाको ठाकुरद्वार मा भव्य रूपमा सुरु भएको छ।

जेठ २ र ३ गते सञ्चालन हुने उक्त कार्यक्रममा क्षेत्र “घ” अन्तर्गतका महासचिव, कोषाध्यक्ष, शाखा अध्यक्ष, राष्ट्रिय पदाधिकारी, प्रशिक्षक, सामाजिक अभियन्ता, पत्रकार, सहकारीकर्मी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्यक्रमको सञ्चालन छत्र प्रसाद धमालाले गर्नुभएको हो।

उद्घाटन समारोहमा बोल्दै विशिष्ट अतिथि तथा नेपाल जेसीज वर्ष–२०२६ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर जीवन कार्कीले २०२६ लाई युवाको नेतृत्व क्षमता अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय अभियानको रूपमा व्याख्या गर्नुभयो। उहाँले Best -2026 केवल तालिम नभई भविष्यका सक्षम नेतृत्व निर्माण गर्ने अभियान भएको उल्लेख गर्दै युवालाई सकारात्मक परिवर्तनको नेतृत्व गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री माननीय जन्मजय तिमिल्सेनाले युवालाई अवसर, तालिम र जिम्मेवारी प्रदान गर्न सके देशको भविष्य उज्ज्वल बन्ने धारणा राख्नुभयो। उहाँले दक्ष सचिवालय र पारदर्शी आर्थिक व्यवस्थापनमार्फत संस्थागत सुशासन मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

­

नेपाल जेसीजका राष्ट्रिय महासचिव जेसी अमर घिमिरेले Best २०२६ ले महासचिवहरूको प्रशासनिक क्षमता अभिवृद्धि गर्ने बताउनुभयो भने राष्ट्रिय कोषाध्यक्ष जेसी सुजुप सुवेदीले प्रभावकारी वित्तीय व्यवस्थापनका लागि यस्ता तालिम अपरिहार्य रहेको धारणा राख्नुभयो।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा विराटनगर जेसिज वर्ष–२०१९ का शाखा अध्यक्ष जेसी सेवक बजगाईंले जेसिज ले युवालाई नेतृत्व, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्दै आएको बताउनुभयो।
यसैगरी, क्षेत्र “घ” का तालिम संयोजक जेसी भुपेन्द्र तिमिल्सेनाले संगठनात्मक अनुशासन, नेतृत्व विकास तथा युवा सशक्तीकरणका लागि Best-2026 महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्नुभयो।

आतिथ्य शाखा बर्दिया जेसिज वर्ष–२०२६ का शाखा अध्यक्ष जेसी टिकाराम चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै समयलाई दिशा दिने नेतृत्व नै वास्तविक नेतृत्व भएको बताउनुभयो। उहाँले Best- 2026 ले क्षेत्रीय नेतृत्व विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो।

उद्घाटन समारोहमा राष्ट्रिय गान, जेसीज आस्थापाठ, जेसिज मिसन  तथा भिजन वाचन, दीप प्रज्वलन, शुभकामना आदानप्रदान तथा मायाको चिनो प्रदान कार्यक्रम सम्पन्न गरिएको थियो। उद्घाटन सत्रपछि प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको आयोजकले जनाएको हो ।