सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२, बिरुवाबारीमा कोइला बाली सुतेका कारण ३८ दिनकी शिशुको मृत्यु भएको छ भने अन्य तीन जना बेहोस भएका छन्।
प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–२ स्थायी घर भई हाल वीरेन्द्रनगर–१२ स्थित मानबहादुर चन्दको घरमा कोठा भाडामा बस्दै आएका करिब ३०/३२ वर्षीया तारा बुढा, उनकी भदैनी करिब १२/१३ वर्षीया संगम बुढा, छोरा १० वर्षका प्रकाश बुढा र ३८ दिनकी छोरी प्रतिक्षा बुढा कोठाभित्र कोइला बाली सुतेका थिए।
आज बिहान करिब ९:४५ बजेसम्म पनि कोठाबाट कोही ननिस्किएपछि घरबेटीले बोलाउँदा प्रकाश बुढाले ढोका खोलेका थिए। ढोका खोल्दा तारा बुढा र संगम बुढा बेहोस अवस्थामा फेला परेका थिए भने प्रकाश बुढा सामान्य अवस्थामा थिए। ३८ दिनकी शिशु प्रतिक्षा बुढाको भने घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
बेहोस भएका तारा बुढा, संगम बुढा र प्रकाश बुढालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको छ। उनीहरूको उपचारमा तारा बुढाका श्रीमान गोपी बुढा संलग्न रहेको जनाइएको छ।
प्रहरी टोलीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान सम्पन्न गरी मृत शिशुको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी तथा स्वास्थ्यकर्मीहरूले चिसो मौसममा बन्द कोठाभित्र कोइला, दाउरा वा ग्यास बालेर सुत्दा कार्बन मोनोअक्साइड ग्यास जम्मा भई ज्यान जाने जोखिम अत्यधिक हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।








