कालिकोट । जिल्ला अस्पताल कालिकोटमा केही समयदेखि स्थगित भएको स्वास्थ्य बीमा सेवा पुनः सञ्चालनमा आएको छ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटले असार २३ गते जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा बोर्डको २०८३ असार १२ गतेको परिपत्रपछि बीमा सुविधा प्याकेज परिमार्जन भई केही औषधि तथा सेवाको दररेट अद्यावधिक गरिएको थियो। त्यसका कारण अस्पतालले बीमा सेवा अस्थायी रूपमा स्थगित गरेको थियो।
कार्यालय सूचना अधिकारी कटक महतका अनुसार अस्पतालको निर्णयबमोजिम बीमा प्याकेजको रकमभित्र पर्ने तथा अस्पतालले गरेको टेन्डरअनुसारको दररेटसँग मिल्ने औषधि र स्वास्थ्य सेवाहरू असार २३ गतेदेखि पुनः उपलब्ध गराउन थालिएको छ। तर, बीमा प्याकेजको रकमभन्दा बढी लागत पर्ने औषधि तथा सेवाहरू भने हाललाई बीमा सुविधाअन्तर्गत उपलब्ध गराउन नसकिने जनाइएको थियोे ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटले सेवाग्राहीलाई पुनः स्वास्थ्य बीमा सेवा सञ्चालन भएको जानकारी गराउँदै आवश्यक स्वास्थ्य सेवा लिन अनुरोध गरेको छ। साथै, बीमा बोर्डको नयाँ व्यवस्था अनुरूप सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ।







