कैलालीमा भेटिएको शव पहिचान साङ्गेतडा दुर्घटनाको तीन जनाको खोजी तीव्र

  ।   २३ असार २०८३, मंगलवार १९:३५

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा भएको फोर्स गाडी दुर्घटनामा कर्णाली नदीमा बेपत्ता भएका यात्रुमध्ये एक जनाको शव पहिचान भएको छ। सोमबार कैलालीको मोहान्याल गाउँपालिका–६, सुङ्गरखालस्थित कर्णाली नदी किनारमा भेटिएको पुरुषको शव कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी मेगे तिरुवाको भएको पुष्टि भएको हो।

मेगे तिरुवाका छोरा रविन्द्र तिरुवाले मंगलबार शवको सनाखत गरी बुझेका छन्। इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले शव पहिचान भएको जानकारी दिए।

प्रहरीका अनुसार कैलालीको चिसापानी क्षेत्रमा भेटिएको महिलाको शव भने साङ्गेतडा दुर्घटनासँग सम्बन्धित नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त शवको छुट्टै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस दुर्घटनामा अझै तीन जना बेपत्ता छन्। बेपत्ता हुनेमा कालिकोटको रास्कोट नगरपालिका–२ की सिर्जना खड्का, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी र गाडीका सहचालक रामप्रसाद सुवेदी रहेका छन्। चालक र सहचालक दुई दाजुभाइ भएको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निरन्तर जारी राखेको छ।

गत बिहीबार बिहान करिब ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको साङ्गेतडा क्षेत्रमा अनियन्त्रित भई करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनापछि गाडी नदीमा डुबेको थियो।

दुर्घटनालगत्तै गाडीमा सवार कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए। उनको उद्धार गरी दुल्लु अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार नदीको तीव्र बहाव र गहिराइका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ। सुरक्षा निकायले गाडीसहित बेपत्ता यात्रुको खोजीका लागि नदी किनार तथा सम्भावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन्। स्थानीयवासीसमेत खोजी अभियानमा सहयोग गरिरहेका छन्।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।