अपडेट

११ करोड ठगी प्रकरण: ‘ब्रोकर नम्बर २२’ का महाप्रबन्धक तीन दिनको हिरासतमा

  ।   २१ श्रावण २०८२, बुधबार १८:१७

सुर्खेत। नेपाली पूँजी बजारमा ठूलो आर्थिक ठगी प्रकरणमा मुछिएका ‘ब्रोकर नम्बर २२’ (सिप्रि सेक्युरिटिज) का महाप्रबन्धक जयन्त श्रीवास्तवलाई अदालतले तीन दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंले बुधबार आदेश जारी गर्दै श्रीवास्तवलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन स्वीकृति दिएको हो। उनलाई ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको हो।

श्रीवास्तवविरुद्ध प्रहरीले सेयर कारोबारसँग सम्बन्धित ठगीको आरोपमा अनुसन्धान अघि बढाएको हो। उनले कारोबारकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवाललाई ठगी गरेको उजुरी परेपछि प्रहरी सक्रिय भएको थियो। उजुरीकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार यसअघि नै साउन ९ गते अदालतले श्रीवास्तवविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको थियो।

साउन २० गते उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए। सोही दिन उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको हो। महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई सिधै हिरासतमा राखी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा श्रीवास्तवमाथि ठगी गरेको पुष्टि गर्दै उनलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतसँग अनुमति मागेको थियो।

यस प्रकरणमा संलग्न भएको आशंकामा ब्रोकर नम्बर २२ का अध्यक्ष रवीन्द्र भट्टराई र प्रवन्ध निर्देशक सतीश कुमार श्रेष्ठसमेत प्रहरीको निगरानीमा छन्। साथै, कम्पनीका सीइओ कविराज न्यौपानेलगायत अन्य केही पदाधिकारीहरू अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई खोजी कार्य तीव्र बनाएको जनाएको छ। ठगीसम्बन्धी अनुसन्धान विस्तार हुँदै जाँदा थप व्यक्तिहरू समेत अनुसन्धानको दायरामा पर्ने सम्भावना रहेको बुझिएको छ।

 

Next Post

ताडीको लाखे जात्रालाई वडा नं.३ र ४ को साझा पहिचानमा लैजान आग्रह

२१ श्रावण २०८२, बुधबार १८:१७
कालिकोट / खाडाचक्र नगरपालिका–३, ताडीमा विगत केही वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको लाखे जात्रा अब वडा नं। ३ मात्र नभई वडा नं. ४ को पनि सहकार्यमा अगाडि बढाउनुपर्ने आवाज उठेको छ। यहि विषयमा कर्णाली जेसिज वर्ष २०२१ का अध्यक्ष तथा समाजसेवी , युवा नेता लक्ष्मण कुमार शाहीले जात्राको व्यवस्थापन […]