निर्वाचनमा बालबालिकाको प्रयोग र दुर्व्यवहार नगर्न नागरिक समाज शुभकालिकाको अपिल

  ।   १२ माघ २०८२, सोमबार १९:२७

कालिकोट । आगामी निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित तथा बालमैत्री बनाउन बालबालिकाको प्रयोग, हिंसा तथा दुर्व्यवहार न्यूनीकरण गर्न नागरिक समाज शुभकालिका गाउँपालिकाले हार्दिक अपिल गरेको छ।

नागरिक समाज शुभकालिकाले जारी गरेको ध्यानाकर्षण पत्रमार्फत १८ वर्ष मुनिका बालबालिकालाई कुनै पनि प्रकारका निर्वाचनसम्बन्धी गतिविधिमा प्रयोग नगर्न सरोकारवाला सबैलाई आग्रह गरेको हो। बालबालिका नेपालको संविधान, बालअधिकार ऐन, २०७५ तथा अन्तर्राष्ट्रिय बालअधिकार महासन्धिबाट संरक्षित नागरिक भएकाले उनीहरूलाई चुनावी प्रचार–प्रसार, सभा, जुलुस, ¥याली तथा राजनीतिक कार्यक्रममा सहभागी गराउन नपाइने स्पष्ट गरिएको छ।

ध्यानाकर्षण पत्रमा बालअधिकारको संरक्षण र प्रवर्द्धनका लागि शुभकालिका गाउँपालिकाले निर्माण गरेको बालमैत्री आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ। साथै बालबालिकाको शिक्षामा कुनै पनि किसिमको नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले पालिका तथा वडाभित्रका कुनै पनि विद्यालयलाई निर्वाचन प्रचार–प्रसार, भेला तथा राजनीतिक कार्यक्रमका लागि प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।
विद्यालयहरू शान्ति क्षेत्र भएकाले बन्द, हड्ताल, तालाबन्दी तथा आम हड्तालजस्ता गतिविधि पूर्ण रूपमा निषेध गर्नुपर्ने माग नागरिक समाजले गरेको छ। यस्तै बालबालिकाका आवाज सुन्न र उनीहरूका गुनासा सुरक्षित रूपमा सम्बोधन गर्न विद्यालय तथा स्थानीय तहमा गुनासो पेटिका, बालमैत्री सुनुवाइ संयन्त्र र परामर्श सेवाको व्यवस्था गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराइएको छ।
नागरिक समाज शुभकालिकाले सम्पूर्ण राजनीतिक दलहरूलाई आफ्ना निर्वाचन घोषणापत्रमा बालबालिकासम्बन्धी सवाल, नीति तथा कार्यक्रम अनिवार्य रूपमा समावेश गर्न आग्रह गरेको छ। सामाजिक सञ्जालमा बालबालिकालाई प्रयोग गरी राजनीतिक, वैचारिक वा अन्य आस्थाका आधारमा सामग्री निर्माण तथा प्रचार–प्रसार गर्न पूर्ण प्रतिबन्ध लगाउनुपर्ने मागसमेत पत्रमा उल्लेख गरिएको छ।

ध्यानाकर्षण पत्र शुभकालिका गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकृष्ण आचार्य, वडा नं। ५ का वडा सदस्य जनक बहादुर शाही, नेपाली कांग्रेसका युवा नेता रतन बहादुर शाही, नेपाली कम्युनिष्ट पार्टीका नेता महारुद्र आचार्यलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई बुझाइएको नागरिक समाजले जनाएको छ।

नागरिक समाज शुभकालिकाका सदस्य तथा कार्यक्रमका अगुवा छत्र रोका मगरले निर्वाचनमा बालबालिकाको प्रयोग हुनु गम्भीर चिन्ताको विषय भएको बताए। उनले भने, “बालबालिका राष्ट्रका भविष्य हुन्। उनीहरूलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु कानुनविपरीत मात्र होइन, अमानवीय कार्य पनि हो। त्यसैले सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरेका हौँ।”

वडा नं . ५ का वडा सदस्य जनक बहादुर शाहीले बालमैत्री निर्वाचन आजको आवश्यकता भएको उल्लेख गर्दै भने,
“बालबालिकाको शिक्षा र सुरक्षा सुनिश्चित नगरी समावेशी र मर्यादित निर्वाचन सम्भव हुँदैन। विद्यालयलाई राजनीति मुक्त राख्न सबै पक्ष गम्भीर हुनुपर्छ।”

नेपाली कांग्रेसका युवा नेता रतन बहादुर शाहीले बालअधिकारका सवालहरू निर्वाचन घोषणापत्रमै समेटिनुपर्नेमा जोड दिए।
“बालबालिकाको भविष्य सुरक्षित गर्नु सबै राजनीतिक दलको साझा दायित्व हो। बालबालिकाको नाममा हुने कुनै पनि दुरुपयोग स्वीकार्य हुँदैन,” उनले भने।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता महारुद्र आचार्यले सामाजिक सञ्जालमा बालबालिकाको प्रयोग बढ्दो क्रममा रहेकाले यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने बताए।

“सामाजिक सञ्जालमार्फत बालबालिकालाई राजनीतिक सामग्रीमा प्रयोग गर्नु गम्भीर अपराध हो। यस विषयमा राज्य संयन्त्रले कडाइका साथ नियमन गर्नुपर्छ,” उनको भनाइ छ।
ध्यानाकर्षण पत्र वितरणपछि नागरिक समाज शुभकालिकाका सदस्यहरूले बजार क्षेत्र तथा सार्वजनिक स्थानमा सूचना टाँसेर सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सचेतना कार्यक्रमसमेत सञ्चालन गरेका थिए।

नागरिक समाज शुभकालिकाका अनुसार निर्वाचन अवधिमा बालबालिकामाथि हुने हिंसा, शोषण तथा दुर्व्यवहारविरुद्ध तत्काल उजुरी दर्ता र कारबाहीको प्रभावकारी संयन्त्र विकास गर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मी र अभिभावक सबैले बालमैत्री निर्वाचन आचरणको पूर्ण पालना गर्न आवश्यक छ।

बालबालिका राष्ट्रका भविष्य भएकाले उनीहरूको सुरक्षा, शिक्षा र अधिकार सुनिश्चित गर्नु राज्य, समाज र अभिभावक सबैको साझा दायित्व भएको निष्कर्ष नागरिक समाज शुभकालिकाले निकालेको छ।

Next Post

सान्नी त्रिवेणी–३ रकुमा : विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पहिलो पटक महिला चयन

१२ माघ २०८२, सोमबार १९:२७
कालिकोट । कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–३ रकुमा स्थित श्री विद्याज्योति माध्यमिक विद्यालय, देवपुर–लुइँयटाले इतिहास रच्दै पहिलो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा महिलालाई चयन गरेको छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय महिला नेतृ सीता कुमारी पाण्डे (देवकोटा ) चयन भएसँगै स्थानीय तहमा महिला नेतृत्वको नयाँ उदाहरण स्थापित भएको छ। […]