सान्नी त्रिवेणी–३ रकुमा : विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पहिलो पटक महिला चयन

  ।   १३ माघ २०८२, मंगलवार ११:४४

कालिकोट । कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–३ रकुमा स्थित श्री विद्याज्योति माध्यमिक विद्यालय, देवपुर–लुइँयटाले इतिहास रच्दै पहिलो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा महिलालाई चयन गरेको छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय महिला नेतृ सीता कुमारी पाण्डे (देवकोटा ) चयन भएसँगै स्थानीय तहमा महिला नेतृत्वको नयाँ उदाहरण स्थापित भएको छ। यसअघि विद्यालय व्यवस्थापन समितिको नेतृत्व सधैँ पुरुषको हातमा सीमित रहँदै आएकोमा यस पटक महिलालाई जिम्मेवारी दिइनु सकारात्मक र प्रेरणादायी कदमका रूपमा लिइएको छ।

नव–निर्वाचित अध्यक्ष देवकोटाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, बालबालिकाको सुरक्षित सिकाइ वातावरण, अभिभावक–विद्यालय सम्बन्ध सुदृढीकरण तथा समग्र शैक्षिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यस विषयमा वडा नम्बर ३ का वडा अध्यक्ष रंगलाल देवकोटाले महिलाहरू केवल चुलो–चौको, मेला–पातमा मात्र सीमित नभई बालबालिकालाई शिक्षा र संस्कार दिने प्रथम गुरु भएको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा महिलालाई चयन गर्नु समयसापेक्ष र आवश्यक निर्णय भएको बताउनुभयो। उहाँले यसले समाजमा महिला नेतृत्वप्रतिको सोच परिवर्तन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

माघ ३ गते सम्पन्न भेलापछि माघ १२  अभिभावक संघको चयन भएसँगै विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको हो। स्थानीय अभिभावक तथा सरोकारवालाहरूले महिला नेतृत्वले विद्यालयको सुरक्षा, शैक्षिक अनुशासन र विकासमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेका छन्।

महिलाको हक–हित, समान सहभागिता र सशक्तीकरणका साथै विद्यालयको समग्र शैक्षिक विकासका लागि महिला नेतृत्व अपरिहार्य रहेको सरोकारवालाहरूको निष्कर्ष छ। श्री विद्याज्योति माध्यमिक विद्यालयमा महिला अध्यक्ष चयन हुनु सान्नी त्रिवेणी गाउँपालिकाकै लागि उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ।

Next Post

कर्णाली जेसिज शाखाको १४औँ अधिवेशन सम्पन्न, प्रभुराम पाण्डे अध्यक्षतामा निर्वाचित

१३ माघ २०८२, मंगलवार ११:४४
कालिकोट । कर्णाली जेसिज शाखाको १४औँ अधिवेशन सम्पन्न, प्रभुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अधिवेशनले प्रभुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। अध्यक्ष निर्वाचित पाण्डे पत्रकारितामा सक्रिय एक कुसल पत्रकार हुन ।   नव–निर्वाचित कार्यसमितिमा भक्त बहादुर शाही र लक्ष्मि मल्ल (शाही) कार्यकारी उपाध्यक्षमा […]

सम्बन्धित शीर्षक