कालिकोट / खाडाचक्र नगरपालिका–३, ताडीमा विगत केही वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको लाखे जात्रा अब वडा नं। ३ मात्र नभई वडा नं. ४ को पनि सहकार्यमा अगाडि बढाउनुपर्ने आवाज उठेको छ।
यहि विषयमा कर्णाली जेसिज वर्ष २०२१ का अध्यक्ष तथा समाजसेवी , युवा नेता लक्ष्मण कुमार शाहीले जात्राको व्यवस्थापन समितिलाई आगामी कृष्ण जन्माष्टमी विशेष लाखे जात्रा समावेशी बनाउन दिपज्योती खबर मार्फत अनुरोध गरेका हुन ।
उनका अनुसार, “कुनै समय अग्रजहरूले एउटै स्थानमा भेला भएर लाखे जात्राको रमाइलो हेर्ने गर्थे। हामीले त्यो परम्परालाई आफ्नो परिवेश, भूगोल, र संस्कृतिको विकाससहित नयाँ ढंगमा अगाडि बढाएका हौं। अहिले त्यो छुट्टै पहिचान बनिसकेको छ, र त्यसलाई जीवित राख्न सहयोग गर्ने सम्पूर्णमा म आभार व्यक्त गर्छु।”
तर उनले यसबीचमा केही आधारभूत पक्षमा चुकिएको हुनसक्ने कुरा पनि औंल्याएका छन । “हामीले कहिलेकाहीं आफ्नो भूगोल र सामाजिक समावेशिताको परिकल्पनामा पूर्ण ध्यान नदिएको अनुभूति भएको बताए । उदाहरणका लागि, वडा नं. ४ पनि त ताडी क्षेत्रभित्रकै भूगोलमा पर्छ होला निरु जसलाई हामी समग्रमा ‘ताडी’ भनी चिन्ने, बुझ्ने र व्यवहारमा ल्याउने गर्छौं, ” उनले भने ।
यसैले, उनले जात्रालाई अझ फराकिलो दृष्टिले हेरेर वडा नं. ४ को स्थानीय सरकार र युवाहरूको पनि सक्रिय प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका हुन।
शाहीले जात्राको संयोजक समितिलाई आग्रह गर्दै भने, “समयको माग अनुसार, अब जात्राको संचालनमा सबैको अपनत्व हुने गरी अघि बढ्नु पर्छ। यसले जात्राको सांस्कृतिक महत्व झनै बढ्नेछ, र सामाजिक एकता अझ मजबुत हुनेछ।”