रतन रावल,
मुगु । मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका–७,रामतडीस्थित श्री लोकप्रिय उच्च माध्यमिक विद्यालयमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालनमा आएको छ। आइतबारदेखि सुरु भएको उक्त शिविरमा आँखासम्बन्धी विभिन्न रोगको परीक्षणदेखि लिएर शल्यक्रियासम्मका सेवा प्रदान गरिँदैछन्।
नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्रका इन्चार्ज ध्रुव बुढा थापाका अनुसार शिविरमा मोतीबिन्दु र टेरिजियम रोगका बिरामीको पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको छ।
नेपाल नेत्रज्योति सङ्घ मुगु शाखा तथा नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल, पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा, र खत्याड गाउँपालिकाको समन्वयमा संचालित यो २ दिने शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया तथा चस्मा वितरण गरिँदैछ।
शिविरमा मुगुम कार्मारोङ गाउँपालिका छायाँना, रारा नगरपालिका सोरु, साथै जुम्ला र बाजुराका सेवाग्राहीलाई लक्षित गर्दै आँखा जाँच र उपचार सेवा प्रदान गरिएको छ।
शिविरमा हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा। अनिल पराजुलीको नेतृत्वमा आएको स्वास्थ्य टोलीले सेवा दिएको हो।
डा. पराजुलीका अनुसार मोतीबिन्दु रोग पहिचान भएका सबै बिरामीको सफलतापूर्वक निःशुल्क शल्यक्रिया गरिएको छ। शिविरबाट बालबालिका, ज्येष्ठ नागरिक तथा विभिन्न आँखाका समस्या भएका सेवाग्राही विशेष रूपमा लाभान्वित भएका छन्।
न्यून दृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका व्यक्तिका लागि आवश्यकतानुसार थप उपचार तथा चस्मा वितरण गरिएको पनि जनाएको छ।
शिविर सञ्चालनमा जिल्ला आँखा उपचार केन्द्र मुगुको समेत सक्रिय समन्वय रहेको थियो।







