रतन रावल ,
मुगु । जिल्लाको पश्चिम खत्याड गाउँपालिका–७ रामतडीस्थित श्री लोकप्रिय माध्यमिक विद्यालयमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ७ सय २० जनाले आँखा परीक्षण गराएका छन् आइतबारदेखि सञ्चालन भएको सो निःशुल्क आँखा तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा १०० जनाको मोतिबिन्दु र १ जनाको टेरिजियम सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुका इन्चार्ज ध्रुवबहादुर थापाका अनुसार शिविर नेपाल नेत्रज्योति सङ्घ मुगु शाखा, हिमालय आँखा अस्पताल पोखरा, Ridley Eye Foundation तथा खत्याड गाउँपालिकाको समन्वय तथा सहयोगमा दुई दिनसम्म सञ्चालन गरिएको हो। शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण, चस्मा वितरण र मोतिबिन्दु शल्यक्रिया जस्ता सेवा प्रदान गरिएको हो।
यो शिविरबाट मुगुम कार्मारोङ गाउँपालिका, छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका तथा जुम्ला–बाजुराका बिरामीहरू विशेष रूपमा लाभान्वित भएका छन्।
स्वास्थ्य सेवा प्रदान गर्ने टोलीको नेतृत्व हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा। अनिल पराजुलीले गर्नुभएको थियो।
डा. पराजुलीका अनुसार, “मोतिबिन्दु पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको छ। न्यून दृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका व्यक्तिलाई आवश्यक चस्मा र थप उपचारको व्यवस्था पनि गरिएको छ,” उनले भने शिविरमा बालबालिका, ज्येष्ठ नागरिक, विभिन्न विद्यालयका विद्यार्थी विशेष रूपमा सहभागी भएका थिए।
खत्याड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरबहादुर का अनुसार यस्तो शिविर दुर्गम क्षेत्रका नागरिकका लागि निकै महत्वपूर्ण रहेको छ।
स्थानीयबासीले शिविरमा सेवाप्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उच्च प्रशंसा गरेका छन्। शिविरबाट दृष्टि फिर्ता पाएका एक सेवाग्राहीले भावुक हुँदै भने, “हाम्रो आँखामा अन्धकार छाएको थियो। शल्यक्रियापछि फेरि नजर फर्कियो। योभन्दा ठूलो उपहार हाम्रो लागि के नै हुन सक्छ ररु डाक्टरहरू त हाम्रा लागि साँच्चिकै भगवान हुन्।”
सो शिविर सफलतापूर्वक सञ्चालनमा भूमिका निर्वाह गर्ने सबै संस्था, स्वास्थ्यकर्मी र स्वयंसेवकलाई स्थानीयले धन्यवाद व्यक्त गरेका छन्।







