सुर्खेत । चिङ्गाड गाउँपालिकामा परम्परागत रूपमा हरेक वर्ष शुद्ध पूर्णिमाको अवसरमा मनाइँदै आएको ऐतिहासिक ठटी मेला – २०८२ यस वर्ष पनि बृहत् रूपमा आयोजना हुँदैछ। स्थानीय परम्परा, खेलकुद, कला, संस्कृति र एकताको प्रतिकका रूपमा यो मेला यस क्षेत्रको गौरव बनेको छ।

मेलाको व्यवस्थापन ठटी बजार व्यवस्थापन समितिले गर्दै आएको छ। मेलाको उद्घाटन कार्यक्रम १९ गते कात्तिकदेखि सुरु भई २३ कात्तिकसम्म चल्नेछ। यस अवधिमा खेलकुद प्रतियोगिता, सांस्कृतिक झाँकी, देउडा, झ्याउरे, घोडा दौड, नृत्य तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति हुने छन्।
मेलामा स्थानीय र राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ। साथै, गाउँगाउँका सांस्कृतिक झाँकी, लोकनृत्य, जात्रा, तथा मौलिक परम्पराको प्रदर्शन हुने अपेक्षा गरिएको छ।
स्थानीय घरेलु उत्पादन — ठेकी, सुपी, ढोको, नाङ्लो, ओँसी, खुडो, नारिलो आदि — तथा कृषि उत्पादन जस्तै बदाम, सक्खरखण्ड, तरुल, सुन्तला, केरा, बलेटी आदिको प्रदर्शनी र बिक्रीका लागि विशेष स्टलहरू पनि राखिने भएको छ।
ठाँटी मेलाको प्रमुख आकर्षण मध्ये एक अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता पनि हुनेछ।
खेलकुद कार्यक्रम २० देखि २३ कात्तिकसम्म चल्नेछ र यसमा आकर्षक नगद तथा ट्रफी पुरस्कारका व्यवस्था गरिएको छ ।
पहिलो पुरस्कार: रु. १,६५,५५५र- ट्रफी तथा मेडल
दोस्रो पुरस्कार: रु. १,११,१११र – ट्रफी तथा मेडल
तेस्रो पुरस्कार: रु. ५५,५५५ र – ट्रफी तथा मेडल
फेयर प्ले पुरस्कार: रु. १०,००० र- ट्रफी तथा मेडल
उत्कृष्ट खेलाडी: रु- ३,००० र- तथा मेडल
टिम दर्ता शुल्क: रु. ६,००० र – (दर्ता मिति — कात्तिक २० गते बिहान ९:०० बजे सम्म) रहनेछ ।
त्यससँगै क्रिकेट प्रतियोगिता पनि आयोजना गरिएको छ जसमा प्रथम र द्वितीय स्थान हासिल गर्ने टिमलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ।
संस्कृति र सीपको प्रदर्शन
मेलाले स्थानीय हस्तकला, कृषिउत्पादन, सीप र ज्ञानको आदान–प्रदान गर्ने अवसर प्रदान गर्दै आएको छ। साथै नयाँ पुस्तामा सांस्कृतिक पहिचानको भावना जगाउने उद्देश्य यस मेलाको रहेको छ।
सहभागीका लागि निमन्त्रण
मेलामा स्थानीय बासिन्दा, अतिथिहरू, युवा, विद्यार्थी र खेलप्रेमीहरूलाई उपस्थित भई सांस्कृतिक विविधता र सामुदायिक एकताको अनुभव साझा गर्न ठटी बजार व्यवस्थापन समितिले हार्दिक निमन्त्रण गरेको छ।
समितिका अध्यक्ष महेश जि।सी। र सचिव दुर्गा रेग्मीले सबैलाई मेलाको सफलता र निरन्तरताका लागि सहयोग र सहभागिताको आह्वान गर्दै ऐतिहासिक ठाँटी मेलामा हार्दिक स्वागत गरेका छन्।







