जुम्ला । गुठिचौर गाउँपालिकाले भौगोलिक कठिनाइ र सीमित स्रोत साधनका बीच पनि पूर्वाधार विकास र सुशासनमा उल्लेखनीय प्रगति गरेको छ।
गाउँबस्तीको आवश्यकतालाई प्राथमिकता दिँदै पालिकाले पछिल्लो आर्थिक वर्षमा १ सय ६५ वटा योजना निर्माण गरेको हो।
एक वर्षमा १६५ योजना कार्यान्वयन
आईतबार सम्पन्न आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार, पालिकाका पाँच वटै वडामा कुल १६५ योजना निर्माण भएका छन्।
प्रमुख प्रशासकीय अधिकृत माया लक्ष्मी बुढाका अनुसार, एक लाखभन्दा कम लागतका योजनाः१५ वटा ,१ देखि ३ लाखसम्मकाः ७१ वटा, ३ देखि ५ लाखसम्मकाः२६ वटा ,५ देखि १० लाखसम्मकाः१८ वटा, १० देखि २५ लाखसम्मकाः १५ वटा र २५ लाखभन्दा माथिकाः २० वटा
गत आर्थिक वर्षमा गुठिचौरले ४१ करोड ८२ लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको थियो।
त्यसमध्ये चालुतर्फ २४ करोड ३५ लाख ८६ हजारमध्ये २१ करोड ४६ लाख ७९ हजार रुपैयाँ खर्च भएको र पूँजिगततर्फ १७ करोड ४६ लाख १८ हजारमध्ये १५ करोड ६१ लाख रुपैयाँ खर्च भएको उल्लेख छ।
प्राविधिक शाखा प्रमुख दिपेन्द्र भण्डारीका अनुसार, जनशक्ति र भौगोलिक चुनौतीका बीच पनि पूँजीगत बजेट प्रभावकारी रूपमा कार्यान्वयन गरिएको हो।
गुठिचौरले गत वर्ष निर्माण गरेका प्रमुख संरचनाहरूमा ; सार्वजनिक शौचालय ५ वटा, विद्यालय भवन १ वटा, मन्दिर तथा थान २० वटा, प्रतिक्षालय ५ वटा, सामुदायिक, स्वास्थ्य तथा वडा कार्यालय भवन ९ वटा, गाउँपालिकाको तला थप तथा जलविद्युत मर्मत ४ वटा भण्डरीका अनुसार, “पूर्वाधार विकासका कामहरूलाई स्थानीय आवश्यकता र स्थायित्वका आधारमा अघि बढाइएको छ।”
गुठिचौर गाउँपालिकाले गत वर्ष ३३ लाख ३९ हजार ४९० रुपैयाँ राजस्व संकलन गरेको छ।
५ वडाबाट प्राप्त राजस्व यस्तो छः वडा नं. १ — ८२ हजार ७३०, वडा नं. २ — १ लाख १२ हजार ६०५, वडा नं.३ — १ लाख ५३ हजार ६८५, वडा नं. ४ — २ लाख ६८ हजार ७६२, वडा नं. ५ — २ लाख ५८ हजार ५३१ त्यसैगरी अन्य श्रोतहरूबाट मालपोत रजिष्ट्रेसन शुल्कः ३ लाख १३ हजार ९८१, प्याराग्लाइडिङ महोत्सवबाटः ८ लाख ४४ हजार, डोजर सेवाः ५ लाख ५९ हजार, एम्बुलेन्स सञ्चालनः ८१ हजार, पशु शाखा सेवाः ७ लाख ८४ हजार ८६१, हालसम्म (कार्तिक १४ गतेसम्म) ९ लाख ९७ हजार रुपैयाँभन्दा बढी राजस्व उठिसकेको प्रतिवेदनमा उल्लेख छ।
गाउँपालिका अध्यक्ष दान बहादुर बुढाका अनुसार, सिमित स्रोत र कठिन भौगोलिक अवस्थाबीच पनि पूर्वाधार र सुशासनलाई प्राथमिकता दिइएको हो।
उनले भने,
“हामी जिल्लाकै पहिलो पालिका हौं जसले सुशासन र सुरक्षित पालिका अभियान सञ्चालन गर्यौं।
अब पर्यटन प्रवर्द्धन, वास प्लान निर्माण र प्रशासनिक भवनलाई पूर्णता दिन हाम्रो ध्यान केन्द्रित छ।”
अध्यक्ष बुढाका अनुसार, प्याराग्लाइडिङ महोत्सव, पर्यटन प्रवर्द्धन र सुविधासम्पन्न प्रशासकीय भवन निर्माण आफ्ना कार्यकालका प्रमुख उपलब्धिहरू हुन्।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयहरूले ज्येष्ठ नागरिक बजेट घटेको, विकासमा ढिलाइ भएको र योजना टुक्रा–टुक्रा बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिएका छन्।
त्यस्तै, सेवा छिटो छरितो बनाउने, वडा स्तरमै सार्वजनिक सुनुवाइ गर्ने र असारे विकास रोक्नुपर्ने माग पनि राखिएको थियो।







