काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीचको पार्टी एकता प्रक्रियाबाट टाढा रहेका पूर्वमन्त्री तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले नयाँ राजनीतिक यात्रा सुरु गर्ने तयारी गरेका छन्। उनले मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत ‘प्रगतिशील अभियान, नेपाल’ औपचारिक रूपमा घोषणा गर्न लागेका हुन्।
ललितपुरको सत्कार रेस्टुरेन्टमा दिउँसो साढे २ बजे निर्धारित पत्रकार सम्मेलनमा अभियानका उद्देश्य, संरचना र आगामी राजनीतिक दिशा बारे जानकारी दिइने कार्यक्रम रहेको जनाइएको छ। अभियानका अग्रणी व्यक्तित्वमध्येका नेता राम कार्कीले पत्रकार सम्मेलनमा अभियानको विस्तृत कार्ययोजना सार्वजनिक गरिने जानकारी दिएका छन्।
शर्माको नेतृत्वमा सुरु हुन लागेको यो अभियानले पछिल्लो समय माओवादी आन्दोलनभित्र देखा परेका असन्तुष्ट धारलाई समेट्दै नयाँ प्रकारको प्रगतिशील राजनीतिक वैकल्पिक शक्ति निर्माण गर्ने तयारी गरेको बताइन्छ। स्रोतका अनुसार, पत्रकार सम्मेलनअघि नै अभियानसँग आबद्ध नेताहरूको बैठक बसेर भावी रणनीति र संगठनात्मक संरचना टुंग्याइँदैछ।
अभियानका निकट स्रोतले यो पहललाई माओवादी आन्दोलनको पुनर्संरचना र पुनर्जीवनको प्रयासका रूपमा लिएको बताएका छन्। पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै आएको समूहले अब विचार, संगठन र कार्यक्रमका माध्यमबाट नयाँ बाटो खोल्ने संकेत गरेको छ।
राजनीतिक वृत्तमा जनार्दन शर्माको यो कदमलाई आगामी चुनावी र संगठनात्मक समीकरणमा असर पार्ने सम्भावित कदमका रूपमा हेरिएको छ ।







