सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा ट्राफिक प्रहरीले जनताको सुरक्षालाई प्राथमिकता दिँदै आफैं सडक मर्मतमा खटिएका छन्। जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रोहित कुमार शाहीको नेतृत्वमा खटिएको टोलीले मंगलबार बिहान वीरेन्द्रनगर–७ स्थित कालिन्चोकदेखि इत्राल खोला पुलसम्मका सडकका खाल्डाखुल्डीहरू पुर्दै मर्मत कार्य सम्पन्न गरेको हो।
सडकको जीर्ण अवस्थाका कारण दैनिक सवारी आवागमनमा समस्या र दुर्घटनाको जोखिम बढिरहेको अवस्थामा ट्राफिक प्रहरीले आफ्नै पहलमा मर्मत कार्य सुरु गरेको हो।
करीब १० जना प्रहरीको टोलीले बिहानैदेखि खाल्डाखुल्डीमा माटो र ढुंगामुढा हाल्दै सडक सम्याएका छन्।
प्रहरी निरीक्षक शाहीका अनुसार, “सडकका कारण हुने सवारी दुर्घटना न्यूनिकरण गर्न र सर्वसाधारणको आवागमन सहज बनाउन हाम्रो यो सानो पहल हो।”
स्थानीय बासिन्दाहरूले भने ट्राफिक प्रहरीले जनताको सुरक्षाप्रतिको उत्तरदायित्व र सामाजिक दायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताएका छन्।
सडक मर्मतमा खटिएका प्रहरीहरूप्रति स्थानीयले धन्यवाद ज्ञापन गर्दै भनेका छन् । “सामान्य रूपमा यस्तो काम सडक विभागले गर्नुपर्ने हो, तर प्रहरी आफैंले पहल गर्दा हामीलाई गर्व लागेको छ।”
ट्राफिक प्रहरीको यो सामाजिक उत्तरदायित्वपूर्ण कार्यले सुर्खेतमा “सुरक्षा र सेवा सँगै समाजसेवा पनि” भन्ने सन्देश फैलाएको छ।






