कालिकोट । नेपाली काँग्रेस कालिकोटले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला कार्यसम्पादन समितिको तीन दिनसम्म चलेको छलफल तथा बैठकबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ युवा नेता भूपेन्द्रजंग शाहीसहित तीन जनाको नाम सिफारिस गरिएको हो।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस हुनेमा क्रमशः भूपेन्द्रजंग शाही, पार्टी सभापति अम्बबहादुर शाही, महिला नेता सीता रावल रहेका छन्।
यस्तै, राष्ट्रिय सभातर्फ टेकराज शाही र यसोदा शाहीको नाम सिफारिस गरिएको छ।
प्रतिनिधिसभा समानुपातिकतर्फ भने समावेशीतालाई विशेष ध्यान दिँदै विभिन्न समूहबाट उम्मेदवार सिफारिस गरिएको नेपाली काँग्रेस कालिकोटले जनाएको छ। जसअनुसार खस–आर्य समूहबाट कालीबहादुर सहकारी, महिलातर्फ सुशीला शाही बम र दलित समूहबाट मनबहादुर नेपालीको नाम सिफारिस गरिएको छ।
जिल्ला सभापति अम्बबहादुर शाहीले केन्द्रको निर्देशनअनुसार पार्टीप्रति निष्ठावान, योग्य, अनुभवी तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार सिफारिस गरिएको जानकारी दिए। “कालिकोटको समग्र विकास, सुशासन र जनताको आवाज सशक्त रूपमा उठाउन सक्ने क्षमताका आधारमा उम्मेदवार छनोट गरिएको हो,” उनले भने, “पार्टीभित्रको एकता र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै चुनावी प्रतिस्पर्धामा अघि बढ्छौं।”
युवा नेता भूपेन्द्रजंग शाहीले उम्मेदवार सिफारिसलाई जिम्मेवारीका रूपमा लिँदै युवाको रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकता बनाउने बताए। “कालिकोटलाई विकासको मूलधारमा ल्याउन युवाशक्ति र अनुभवी नेतृत्वको संयोजन आवश्यक छ,” उनले प्रतिक्रिया दिए।
नेपाली काँग्रेस कालिकोटले सिफारिस गरिएका नामहरू केन्द्रमा पठाइसकेको जनाएको छ। पार्टीका नेता तथा कार्यकर्ताले सिफारिस प्रक्रियाले समावेशीता र आन्तरिक लोकतन्त्रलाई प्रतिबिम्बित गरेको भन्दै खुशी व्यक्त गरेका छन्।








