कालिकोट । कालिकोटका माध्यमिक तहका विद्यालयमा लागुऔषध दुर्व्यसनविरुद्ध अभियान सञ्चालन भएको छ । परिवारको बेवास्ताले कुलतमा युवाहरु फस्न थालेपछि विद्यालयमा लागुऔषध दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गरियको हो ।
सामाजिक विकास कार्यालयले यसअघि सान्नीत्रिवेणी–१ सेरिज्युलाको शंकर माविमा अन्तक्रिया गरेको थियो भने खाँडाचक्र–५ घोडेनास्थित चुलीमालिका माविमा बुधबार लागुऔषध दुर्व्यसनविरुद्ध सामाजिक विकास कार्यालय र समुदाय–प्रहरी साझेदारीको सहकार्यमा सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कानुन व्यवसायी, नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, अभिभावकसहितका सरोकारवालाले सडक सञ्जालको विस्तारसँगै लागुऔषध दुर्व्यसनको चपेटामा युवाहरु परेको भन्दै चिन्ता व्यक्त गरे । सडक नहुँदासम्म लागुऔषध दुर्व्यसनको समस्या थिएन, अभिभावक अलिवहादुर शाहीले भने, सडक गाउँ पुग्यो, लागुऔषधको कुलत पनि सँगै भित्रियो । प्रहरीले गाउँगाउँमा सचेतनासँगै गाडीको जाँचमा पनि कडाइ गर्नुपर्ने उनले सुझाव दिए ।
परिवारको माया नपाएका बालबालिका र युवा लागुऔषधको दलदलमा फसेको अधिवक्ता सरिता विश्वकर्माले बताइन् । उनले यातायातका साधनमार्फत लागुऔषधको ओसारपसार र मेडिकलबाट बिक्री वितरण बढी हुने गरेको पाइएको सुनाउँदै दण्ड सजाय मात्राअनुसार फरक भए पनि सेवन गर्नेलाई १ महिनादेखि ५ वर्ष कैद र बिक्री वितरण गर्नेलाई १ वर्षदेखि १० वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको सुनाइन् । १५ देखि ३५ वर्ष उमेर समूहका युवा बढी लागुऔषध दुर्व्यसनको कुलतमा रहेको सुनाउँदै नगारिक समाजका अगुवा तथा गैर सरकारी संस्था महासंघ कालिकोटका सचिव रमेश नेपालीले युवालाई गुणस्तरीय शिक्षा, आत्मनिर्भर हुने खालका सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
लागुऔषध दुर्व्यसनबारे समाजमा जागरण ल्याएर न्यूनीकरण गर्ने, विद्यार्थीमार्फत समुदायमा अभियान सञ्चालन गरेर सभ्य समाजको निर्माण गर्ने उद्देश्यले विद्यालय लक्षित अन्तक्रिया सञ्चालन गरिएको सामाजिक विकास कार्यालय प्रमुख रछाने लोहारले बताए । शिक्षक, अभिभावक र विद्यार्थी सँगै राखेर छलफल चलाउँदा प्रभावकारी हुने रहेछ उनले भने, सबैले लागुऔषध दुर्व्यसनविरुद्ध टोलटोलमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेका छन् । मावि तहको पाठ्यक्रममा लागुऔषधका बारेमा पढाउने गरेको भए पनि जिल्लाका सरोकारवाला गाउँमा पुगेर अन्तर्क्रिया गर्दा थप स्पष्ट हुने मौका पाइएको विद्यालयका प्रधानाध्यापक दीपबहादुर शाहीले प्रतिक्रया दिए । लागुऔषध दुर्व्यसनले युवा र किशोर किशोरीको स्वास्थ्य, शिक्षा, सामाजिकीकरणमा क्षति पुरर्याएको बताउँदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले यसविरुद्ध स्थानीय तहले कार्ययोजना बनाएर टोलटोलमा सचेतनाका अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
नेपालमा २ लाख ३४ हजार लागुऔषध दुर्व्यसनी रहेको तथ्यांक प्रस्तुत गर्दै जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले लागुऔषध के हो, यसको असर, उत्पति, समाजमा हुने क्षति, न्यूनीकरणका उपाय, कानुनी प्रावधानबारे अभिमुखीकरण गरे । उनका अनुसार कालिकोटमा प्रहरीले एक वर्षको अवधिमा ८ जनाविरुद्ध मुद्दा चलाएको छ । समुदाय प्रहरी साझेदारी अभियानमार्फत कालिकोटका ९ वटै स्थानीय तहमा १ वर्षको अवधिमा ५९ वटा माविमा लागुऔषध दुर्व्यसनविरुद्ध चेतनामूलक अभिमुखीकरण, अन्तर्क्रिया, र्याली, सडक नाटक लगायतका कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए ।