कालिकोट । कालिकोट जिल्लामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार जुम्लाबाट बिरामी लिएर सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स खाँडाचक्र नगरपालिका–२ स्थित मेयर खोलानजिक सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको हो। उक्त दुर्घटना बेलुका करिब ०८स्१० बजेतिर भएको जनाइएको छ।
दुर्घटनामा परी जुम्ला जिल्लाको हिमा गाउँपालिका निवासी ३२ वर्षीय भीम बहादुर अधिकारी र एम्बुलेन्स चालक २६ वर्षीय शक्ति बहादुर शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, दुर्घटनामा घाइते भएका ७१ वर्षीय कल बहादुर अधिकारीको अवस्था गम्भीर रहेको छ भने २० वर्षीय लोकेन्द्र शाहीको अवस्था मध्यम रहेको बताइएको छ। उनीहरूको जिल्ला अस्पताल मान्म, कालिकोटमा उपचार भइरहेको छ।
घटनापछि प्रहरी निरीक्षक हिम बहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

थप यो पनि हेर्नुस् :
कालिकोटमा सुर्खेत जाँदै गरेको एम्बुलेन्स दुर्घटना २ मृत, २ घाइते







