अपडेट

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मौलिक कथालाई ५० हजारसम्मको पुरस्कार

  ।   ७ भाद्र २०८२, शनिबार १२:२३

सुर्खेत । कर्णाली प्रदेशको संस्कृति, इतिहास र सामाजिक जीवनलाई पर्दामा उतार्ने उद्देश्यले तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८२ ले ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको घोषणा गरेको छ। महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार, कर्णालीका लुकेका कथा र परम्परालाई उजागर गर्दै त्यसलाई चलचित्रमार्फत् राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने यो अभियान महोत्सवको महत्वपूर्ण आयाम हो। उनले कर्णालीलाई मात्र नभई नेपालकै मौलिकता परिचित गराउने माध्यमका रूपमा यसलाई अगाडि बढाउन चाहिएको बताए।

प्रतियोगितामा नेपालभित्र वा विदेशमा रहेका कुनै पनि नेपाली नागरिक सहभागी हुन पाउने व्यवस्था गरिएको छ। तर, प्रस्तुत गरिने कथा पूर्ण मौलिक हुनुपर्नेछ। पहिले प्रकाशित वा चलचित्रमा प्रयोग भइसकेका कथा मान्य हुने छैनन्। कथा कर्णाली प्रदेशको संस्कृति, इतिहास, परम्परा वा सामाजिक यथार्थसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुनुपर्नेछ।

प्रतियोगितामा छनोट गरिएका उत्कृष्ट तीन कथाले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। त्यसैगरी, उत्कृष्ट १५ कथाका लेखकलाई चलचित्र पटकथा लेखन तालिम दिइनेछ। तीमध्ये उत्कृष्ट ठहरिएका केही कथा प्रत्यक्ष चलचित्र निर्माणमा समावेश गरिनेछन्। छनोट भएका लेखकलाई “कथा लेखक”को श्रेयसहित उचित पारिश्रमिक पनि उपलब्ध गराइने महोत्सवले जनाएको छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले कर्णालीको विविधता र मौलिकताले यसलाई विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउन सक्ने उल्लेख गर्दै कथा लेखन प्रतियोगिता त्यो अभियानतर्फको महत्त्वपूर्ण पहल भएको बताए। प्रसिद्ध अभिनेता दीपकराज गिरीले चलचित्रलाई कर्णाली चिनाउने सबैभन्दा प्रभावकारी माध्यमका रूपमा चित्रित गर्दै यस्तो प्रतियोगिताले नयाँ सिर्जनशीलताका ढोका खोल्ने विश्वास व्यक्त गरे। यसैगरी, प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पहिलो पटक यस्तो अवधारणाबारे सुनेको भन्दै सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत आयोजना गरिएको यो महोत्सवले चलचित्र पर्यटनमार्फत कर्णालीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ। साथै, महोत्सवले जलवायु परिवर्तन, दिगो पर्यटन र सामाजिक चेतनामूलक विषयलाई समेत प्राथमिकतामा राखेको छ।

Next Post

दैलेखमा ११२ अर्ब घनमिटर मिथेन ग्यासको सम्भावना

७ भाद्र २०८२, शनिबार १२:२३
दैलेख । दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा भएको पेट्रोलियम पदार्थको अन्वेषणबाट ठूलो मात्रामा प्राकृतिक मिथेन ग्यास भेटिएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। चीनको जियोलोजिकल सर्भेले गरेको अध्ययनअनुसार यहाँ करिब ११२ अर्ब घनमिटर ग्यास उत्पादन सम्भावना रहेको देखाइएको छ। तर, सो प्रतिवेदनका आधारमा नेपाल सरकारले चीन सरकारलाई पठाएको उत्खनन प्रस्ताव अझै अनुत्तरित […]