अपडेट

अछाम जेसीज ‘स्थापनापछि पहिलोपटक राष्ट्रिय उपाध्यक्षमा ’ झनक अधिकारीको उम्मेदवारी

  ।   २३ कार्तिक २०८३, आईतवार ०९:४१

अछाम । सन् २०१३ मा स्थापना भएको अछाम जेसीजले आफ्नो संगठनात्मक इतिहासमा नयाँ उपलब्धि हासिल गर्ने लक्ष्यसहित नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पहिलोपटक उम्मेदवारी प्रस्तुत गरेको छ। अछाम जेसीज वर्ष २०२६ का अध्यक्ष, इन्जिनियर तथा जेसी झनक अधिकारीलाई नेपाल जेसीज वर्ष २०२७ का लागि राष्ट्रिय उपाध्यक्ष पदको उम्मेदवारका रूपमा अघि सारिएको हो।

अछाम जेसीजका लागि यो उम्मेदवारी केवल एउटा पदको प्रतिस्पर्धा मात्र नभई जिल्लाको नेतृत्व क्षमता, संगठनात्मक पहिचान र राष्ट्रिय स्तरमा प्रतिनिधित्व स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा हेरिएको छ। स्थापनाको १३ वर्षपछि राष्ट्रिय नेतृत्वमा पुग्ने लक्ष्यसहित अघि बढाइएको यस कदमले अछाम जेसीजको गरिमा र सक्रियतालाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

इन्जिनियरिङ पेसामा आबद्ध अधिकारी साहित्य, प्रशिक्षण तथा सामाजिक क्षेत्रमा समेत सक्रिय व्यक्तित्व हुन्। बहुआयामिक अनुभव, सकारात्मक सोच, नेतृत्वदायी क्षमता र सामाजिक सेवाप्रतिको प्रतिबद्धताले उनलाई जेसीज अभियानमा परिचित बनाएको छ।

उनको उम्मेदवारीले नेपाल जेसीजमा नयाँ सोच, प्रभावकारी नेतृत्व र संगठनात्मक रूपान्तरणको सम्भावना बोकेको समर्थकहरूको विश्वास छ। विशेषगरी युवाको नेतृत्व विकास, शाखाहरूबीचको सहकार्य विस्तार, संस्थागत सुदृढीकरण तथा जेसीज अभियानलाई थप परिणाममुखी बनाउने अपेक्षासहित अधिकारीको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ।

नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आगामी पौष ८, ९ र १० गते झापाको भद्रपुरमा आयोजना हुँदैछ। महाधिवेशनमा देशभरका जेसीज शाखाका प्रतिनिधिहरूको सहभागिता रहनेछ भने राष्ट्रिय नेतृत्व चयनका लागि निर्वाचनसमेत हुनेछ।

यसैबीच, अछाम जेसीज वर्ष २०२० का अध्यक्ष तथा चुनाव प्रचारप्रसार समिति संयोजक जेसी तुलाराम बिसीले देशभरका सम्पूर्ण जेसीज मतदातालाई झनक अधिकारीको पक्षमा मतदान गरी विजयी गराउन हार्दिक अपिल गरेका छन्।

बिसीले अधिकारीको उम्मेदवारी अछाम जेसीजको मात्र नभई समग्र सुदूरपश्चिम र विशेषगरी पहाडी जिल्ला अछामको गौरवसँग जोडिएको विषय भएको उल्लेख गर्दै राष्ट्रिय नेतृत्वमा जिल्लाको प्रतिनिधित्व सुनिश्चित गर्ने यो अवसरलाई सफल बनाउन सबै जेसीजकर्मीको साथ, सहयोग र समर्थन आवश्यक रहेको बताएका छन्।

अछामको स्थानीय नेतृत्वबाट राष्ट्रिय नेतृत्वसम्मको यात्रालाई सार्थक बनाउने लक्ष्यसहित अघि बढेको झनक अधिकारीको उम्मेदवारीले अहिले अछाम जेसीजमा उत्साह थपेको छ। यस ऐतिहासिक प्रयासलाई सफल बनाउन देशभरका जेसीज सदस्यहरूको समर्थन निर्णायक हुने अपेक्षा गरिएको छ।