कालिकोट। कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं. ५ मा जेष्ठ नागरिकलाई लक्षित गर्दै न्यानो कपडा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। हिमालयन लाइफ इन्सुरेन्स लिमिटेड शाखा कार्यालय मान्म कालिकोटको सामाजिक उत्तरदायित्व ( CSR ) कार्यक्रमअन्तर्गत २०८२ साल पुस २० गते उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा वडा नं. ५ का जेष्ठ नागरिकलाई जाडोयामको कठ्याङ्ग्रिने चिसोबाट जोगिन न्यानो ज्याकेट वितरण गरिएको थियो। जेष्ठ नागरिकको सम्मान, संरक्षण र सामाजिक सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
हिमालयन लाइफ इन्सुरेन्स शाखा प्रमुख श्री करबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष श्री मिमबहादुर शाही तथा वडा सदस्य श्री नवराज रोकायाको विशेष उपस्थिती रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रमुख शाहीले “गास, बास र कपाससँगै जीवन बीमा पनि आजको आवश्यक आधारभूत आवश्यकता हो” भन्दै जीवन बीमाले भविष्यको आर्थिक सुरक्षा सुनिश्चित गर्ने बताउनुभयो। उहाँले हिमालयन लाइफ इन्सुरेन्सले यसअघि पनि देशका विभिन्न स्थानमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
उहाँले स्थानीय तहसँगको समन्वयमा जेष्ठ नागरिक, विपन्न तथा लक्षित वर्गका लागि सम्मान र संरक्षणमुखी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमप्रति जेष्ठ नागरिकहरूले खुशी व्यक्त गर्दै निजी क्षेत्रबाट सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगले आफूहरूलाई राहत र सम्मानको अनुभूति गराएको प्रतिक्रिया दिएका थिए। स्थानीय बासिन्दाले पनि संस्थाको यो पहललाई उदाहरणीय भन्दै प्रशंसा गरेका छन्।







