सल्यान । उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २५ गतेदेखि सञ्चालन हुन लागेको दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ का क्रममा सम्भावित आगलागी, झैँ–झगडा तथा हिंसाजन्य घटनाप्रति युवा मानवअधिकार रक्षक सञ्जाल सल्यानले गम्भीर ध्यानाकर्षण गराएको छ । सञ्जालले अघिल्लो वर्षको पीडादायी घटनाबाट पाठ सिक्दै यस वर्ष महोत्सवलाई शान्त, सुरक्षित र मर्यादित बनाइनुपर्नेमा जोड दिएको हो।
गत वर्ष राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला शाखा, सल्यानद्वारा आयोजित दोस्रो बृहत् महोत्सवका क्रममा २०८१ माघ २६ गते राति भएको भीषण आगलागीमा ५२ जना व्यापारीका ७३ वटा स्टल पूर्ण रूपमा जलेर नष्ट भएका थिए। उक्त घटनाबाट करिब ४ करोड ५७ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो। यसले व्यवसायी मात्र होइन, समग्र जिल्लाको आर्थिक गतिविधिमा समेत गम्भीर असर पारेको थियो।
यस्ता दुःखद घटनाको पुनरावृत्ति नहोस् भन्ने उद्देश्यले सञ्जालले यस वर्ष महोत्सव सञ्चालनपूर्व नै सम्बन्धित सबै निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
१. आगलागी, झैँ–झगडा तथा हिंसाजन्य घटना न्यूनीकरणका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन, आधुनिक आगो नियन्त्रण उपकरणको व्यवस्था, सुरक्षित विद्युत् जडान तथा आपतकालीन उद्धार योजनासहितको प्रभावकारी सुरक्षा व्यवस्था तत्काल लागू गर्न।
२. महोत्सव तथा बजार क्षेत्रमा फोहर व्यवस्थापनको स्पष्ट योजना कार्यान्वयन गर्दै प्लास्टिकजन्य फोहर न्यूनीकरण गर्न, साथै सार्वजनिक स्थल फोहर गर्ने व्यक्ति वा व्यवसायमाथि कडाइका साथ अनुगमन तथा कारबाही गर्न।
३. महोत्सवलाई शान्त, सुरक्षित र मर्यादित बनाउन आयोजक समिति, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाबीच प्रभावकारी समन्वय कायम गर्दै युवा मानवअधिकार रक्षक सञ्जाल सल्यानसँग औपचारिक सहकार्य संयन्त्र निर्माण गर्न।
सञ्जालले महोत्सव केवल व्यापारिक गतिविधिको थलो मात्र नभई स्थानीय उत्पादन प्रवर्द्धन, सांस्कृतिक पहिचान संरक्षण र पर्यटन विकासको महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै, सबै पक्षको साझा जिम्मेवारीबाट मात्र सुरक्षित महोत्सव सम्भव हुने स्पष्ट पारेको छ।
आगामी दिनमा यस्ता महोत्सवहरूलाई दिगो, सुरक्षित र मानवअधिकारमैत्री बनाउने दिशामा दीर्घकालीन योजना निर्माण आवश्यक रहेको सञ्जालको ठहर छ।








