सुर्खेत । कर्णाली प्रदेशको सार्वजनिक यातायात क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यसहित सुर्खेतबाट अत्याधुनिक स्लीपर बस सेवा सञ्चालनमा आएको छ। सुर्खेत काँक्रेविहार यातायात प्रालिले पश्चिम नेपालमै पहिलो पटक डबल एयर सस्पेन्सनसहित सुत्न मिल्ने सुविधा भएको ‘कर्णाली याक्स’ नामक बस औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

झण्डै १ करोड १४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त बस तयार गर्न करिब ६ महिना लागेको प्रालिले जनाएको छ। कम्पनीका अनुसार यो बस कर्णाली प्रदेशकै अहिलेसम्मको सबैभन्दा महँगो र सुविधासम्पन्न सार्वजनिक सवारी साधन हो।

सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले यात्रुको माग र आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले सेवा गुणस्तरमा निरन्तर सुधार गर्दै आएको बताए। उनले कर्णालीमै पहिलो पटक स्लीपर सुविधासहितको डबल एयर सस्पेन्सन बस सञ्चालनमा ल्याइएको जानकारी दिए।

उनका अनुसार बसमा यात्रुको आरामलाई विशेष प्राथमिकता दिइएको छ। बसमा सुत्न मिल्ने स्लीपर सिट, करिब ५–६ इन्च उचाइ भएका सोफा सिट, आधुनिक इन्टेरियर, साथै लामो दूरी यात्रालाई सहज बनाउने संरचना जडान गरिएको छ।
आईएमई मोटर्स कम्पनीका म्यानेजिङ डाइरेक्टर गंगाराज भुर्तेलले ‘कर्णाली याक्स’ बस साधारण बसभन्दा फरक प्रविधिमा निर्माण गरिएको बताए। उनका अनुसार बसको अगाडि र पछाडि दुवै भागमा एयर सस्पेन्सन, २२५ हर्स पावर क्षमताको इन्जिन जडान गरिएको छ, जसले इन्धन खपत कम गर्नुका साथै दुर्घटना न्यूनीकरण र समयमै गन्तव्यमा पुग्न सहयोग पुर्याउनेछ।
हाल उक्त बस सुर्खेत–काठमाडौँ दैनिक रात्रि सेवाका रूपमा सञ्चालनमा आएको छ। बस सुर्खेतबाट साँझ ४ बजे प्रस्थान गर्नेछ। यात्रुले सुर्खेत बसपार्कको ४ नम्बर काउन्टर र काठमाडौँ बसपार्कको ५ नम्बर काउन्टरबाट टिकट लिन सक्नेछन्। साथै ई–सेवा मार्फत अनलाइन टिकट बुकिङको व्यवस्था पनि मिलाइँदै छ।
४५ सिट क्षमता रहेको उक्त बसको सुर्खेत–काठमाडौँ भाडा अधिकतम २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। प्रालिले आगामी पुस २५ गतेदेखि सुर्खेतबाट सिधै कोशी प्रदेशको काँकडभिट्टासम्म बस सेवा विस्तार गर्ने तयारीसमेत गरेको जनाएको छ।
राष्ट्रिय क्रिकेटमा कर्णाली याक्स टिमले बनाएको पहिचानप्रति सम्मान व्यक्त गर्दै थप हौसला प्रदान गर्ने उद्देश्यले बसको नाम ‘कर्णाली याक्स’ राखिएको प्रालिले जनाएको छ।
कर्णाली प्रदेशमा गुणस्तरीय र सुरक्षित सार्वजनिक यातायात सेवाको अभावबीच सुरु भएको यो सेवा यात्रुको सुविधासँगै प्रदेशको समग्र यातायात विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।








