नेफ्स्कुन कर्णाली कुटपिट प्रकरण : पत्रकार सम्मेलनमा संचालक रावतको स्पष्टिकरण

  ।   २१ पुष २०८२, सोमबार २०:५५

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) कर्णाली प्रदेश कार्यालयमा भएको कुटपिट र विवादको विषयमा प्रदेश बोर्डका संचालक वीरबहादुर रावत ‘भोटे’ले पत्रकार सम्मेलन गर्दै घटनासम्बन्धी भिडियो एकपक्षीय र योजनाबद्ध रूपमा सार्वजनिक गरिएको दाबी गरेका छन्।

 

रावतका अनुसार २०८२ साल पौष १८ गते शुक्रबार दिउँसो करिब ३:३० बजे नेफ्स्कुन कर्णाली प्रदेश कार्यालयमा उपस्थिति दर्ता गर्न गएका बेला कार्यालयमै कार्यरत कर्मचारीहरूबाट योजनाबद्ध रूपमा कुटपिट र तोडफोड गरिएको हो। उक्त घटनामा फिल्ड कार्यालय इन्चार्ज मदनकुमार चन्दले कर्मचारीहरूलाई उक्साएको, कार्यालयको शान्त वातावरण भंग गरिएको तथा आफू घाइते भएको उनले बताए।

पत्रकार सम्मेलनमा रावतले घटनासँग जोडिएको भिडियोबारे स्पष्टिकरण दिँदै भने, “घटनापछि मलाई बदनाम गर्ने उद्देश्यले भिडियो खिचेर सामाजिक सञ्जालमा फैलाइएको हो। म कार्यालयबाट बाहिर निस्कन खोज्दा गेट बन्द गरेर पुनः कुटपिट गरिएको अवस्थाको भिडियो तोडमोड गरी प्रस्तुत गरिएको छ।”

उनले भिडियोमा प्रयोग गरिएका शब्द र सन्दर्भले वास्तविक घटनालाई गलत ढंगले चित्रण गरेको आरोप लगाए। साथै कार्यालय खर्च, हवाई टिकट र होटल बासजस्ता विषयमा कुनै आधिकारिक निर्णय नभएको अवस्थामा भ्रम फैलाइएको उनको भनाइ छ।

यस घटनापछि रावतले सम्बन्धित मन्त्रालयमा लिखित ध्यानाकर्षण पत्र बुझाउँदै कार्यालयभित्रको असुरक्षा, कर्मचारीको अनुशासनहीन व्यवहार, मानसिक तनाव र सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने प्रयासबारे जानकारी गराएका छन्। पत्रमार्फत उनले घटनासम्बन्धी भिडियो प्रमाण पेश गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।

नेफ्स्कुन कर्णालीमा भएको यस घटनाले संस्थाभित्रको आन्तरिक व्यवस्थापन, कर्मचारी–संचालक सम्बन्ध र सुशासनको विषयमा गम्भीर प्रश्न उठाएको छ। घटनाबारे दुवै पक्षबाट फरक–फरक दाबी आएकाले निष्पक्ष छानबिनको माग बढ्दै गएको छ।

Next Post

मुगुमा “देउडा महोत्सव–२०८२” भव्य रूपमा आयोजना हुने

२१ पुष २०८२, सोमबार २०:५५
रतन बहादुर रावल, मुगु । कर्णालीको मौलिक लोकसंस्कृति देउडाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले देउडा महोत्सव–२०८२ मुगु जिल्लामा भव्य रूपमा सञ्चालन हुने भएको छ। छायाँनाथ रारा नगरपालिकाका विभिन्न वडामा चरणबद्ध रूपमा आयोजना गरिने महोत्सवले स्थानीय कला, संस्कृति र प्रतिभालाई उजागर गर्ने विश्वास गरिएको छ। मोनालिशा मिडिया उद्योगका निर्देशक बसन्त […]