अपडेट

लिभ–इन सम्बन्धमा रहेका युवतीको हत्या, अभियुक्त प्रेमीले आफैँ प्रहरीलाई जानकारी दिए

  ।   ११ श्रावण २०८२, आईतवार १२:०३

सुर्खेत ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा डेरा गरी बस्दै आएकी १९ वर्षीया निर्मला थापाको हत्या भएको छ। दैलेखको भैरवी गाउँपालिका–२ घर भएकी थापा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्।

हत्या आरोपमा बर्दियाको बारबर्दिया नगरपालिका–३ का ३३ वर्षीय प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डीएसपी दीपक पातलीका अनुसार, थापाको शव डेरामा सड्न थालेको अवस्थामा भेटिएको थियो। पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको छ।

डीएसपी पातलीले जानकारी दिएअनुसार, प्रकाशले आफैंले प्रहरीलाई फोन गरी निर्मलाको हत्या गरेको स्वीकार्दै आत्मसमर्पण गर्न आउँदैछु भनेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरू तीन वर्षदेखि लिभइन सम्बन्धमा थिए। एउटै होटलमा काम गर्ने क्रममा उनीहरूबीच प्रेम सम्बन्ध सुरु भएको र पछिल्लो समय छुट्टाछुट्टै रेस्टुरेन्टमा काम गर्न थालेपछि आपसी अविश्वास र झगडा बढ्दै गएको प्रहरीले जनाएको छ।

प्रकाश विवाहित छन् र उनकी पत्नी तथा एक छोरा बारबर्दियामै बस्छन्। निर्मलाले प्रकाश विवाहित रहेको कुरा पछि मात्र थाहा पाएको र त्यसपछि सम्बन्धमा चर्काचर्की हुँदै गएको अनुसन्धानबाट खुल्न आएको छ।

प्रकाशले बुधबार राति निर्मलालाई हत्या गरेको प्रारम्भिक बयानमा स्वीकारेका छन्। डीएसपी पातलीका अनुसार, उनीहरूबीच विवाद भएको रात निर्मला सुतिरहेकी बेला प्रकाशले डोरीको सहायताले घाँटी थिचेर हत्या गरेका थिए। हत्यापछि उनी रातभर कोठामै बसेका थिए भने बिहीबार बिहान कोठामा ताल्चा लगाएर बाहिरिएका थिए।

बिहीबार दिउँसो प्रकाशले निर्मलाका अभिभावकलाई फोन गरी हत्या गरेको जानकारी दिएका थिए। त्यसपछि शुक्रबार प्रहरीलाई पुनः फोन गरेर आत्मसमर्पण गर्ने इच्छा व्यक्त गरेका थिए। “मैले कान्छी श्रीमतीलाई मारिदिएँ, लाश कोठामै छ, नपत्याए गएर हेर्नुहोस्,” भनी उनले प्रहरीलाई भनेको डीएसपी पातलीले बताए।

प्रहरीले उनलाई नेपालगञ्जको धम्बोजी चोकबाट नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको छ।

Next Post

कर्णालीका आर्थिकमन्त्री शाहमाथि गम्भीर वित्तीय दुरुपयोगको आरोप

११ श्रावण २०८२, आईतवार १२:०३
सुर्खेत /  कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहमाथि नेपाल एथलेटिक्स संघको कोष दुरुपयोग गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका छ सदस्यले शाहले अध्यक्ष पदमा रहँदा संघको रकम आफ्नो स्वार्थका लागि प्रयोग गरेको आरोप लगाएका हुन्। संघका महासचिव धनवीर चौधरीका अनुसार […]