कर्णालीमा फोर्स दुर्घटना : एक शव फेला, यात्रुको विवरण अझै अस्पष्ट

  ।   १८ असार २०८३, बिहीबार १७:४३

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–स्थित साङ्गेतडामा बिहीबार भएको फोर्स दुर्घटनापछि जारी उद्धार अभियानका क्रममा कर्णाली नदीबाट एक जनाको शव फेला परेको छ। शवको पहिचान भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

सुर्खेतबाट कालीकोटको रास्कोट नगरपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ ख १०५५ नम्बरको यात्रुवाहक बस सडकबाट करिब पाँच सय मिटर तल नदीमा खसेको थियो। दुर्घटनापछि बस नदीको गहिरो भागमा डुबेकाले त्यसलाई बाहिर निकाल्न कठिनाइ भइरहेको छ।

प्रहरीका अनुसार घटनास्थलमा सुरक्षाकर्मी र उद्धार टोलीले निरन्तर खोजी अभियान सञ्चालन गरिरहेका छन्। दुर्घटनास्थलबाट एक जना घाइतेको उद्धार गरिएको भए पनि उहाँको अवस्था बोल्न सक्ने नभएकाले यात्रुसम्बन्धी जानकारी प्राप्त हुन सकेको छैन।

घटनास्थलमा भेटिएको चलानी कागजातमा रास्कोट नगरपालिका–२ निवासी सिर्जना खड्काको नाम उल्लेख छ। साथै, रास्कोट–८ का एक व्यक्तिको मोबाइल नम्बर मात्र फेला परेको छ। उक्त नम्बरमा सम्पर्क गर्ने प्रयास सफल हुन नसकेको प्रहरीले जनाएको छ।

बसमा कति जना यात्रु सवार थिए भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। यातायात समितिले टिकट काउन्टरमा रहेका कर्मचारीसँग सम्पर्क गरेर यात्रुको विवरण सङ्कलन गर्ने प्रयास गरिरहेको जनाएको छ।

स्थानीय बासिन्दा, प्रहरी र अन्य उद्धारकर्मीको संयुक्त टोलीले बेपत्ता बस तथा सम्भावित यात्रुको खोजीलाई निरन्तरता दिएको छ। घटनाबारे थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

Next Post

राष्कोट नगरप्रमुख शाहीको अनुरोध : खोज तथा उद्धारमा सहयोग गरौँ

१८ असार २०८३, बिहीबार १७:४३
कालीकोट । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, सांगेडा क्षेत्रमा आज बिहान करिब ११:३० बजे सुर्खेतबाट रास्कोट नगरपालिका, कालीकोटतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको छ। रास्कोट नगरपालिकाका अनुसार दुर्घटनाग्रस्त सवारी साधन करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो। हालसम्म प्राप्त जानकारीअनुसार […]