अपडेट

जेनजेड  पुस्ताले देशव्यापी प्रदर्शन : दुईको मृत्यु, ८० भन्दा बढी घाइते

  ।   २३ भाद्र २०८२, सोमबार १५:३६

काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा नेपालका जेनजेड  पुस्ताले देशव्यापी प्रदर्शन चर्काएका छन् । आइतबारदेखिको प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्ने क्रममा काठमाडौँको नयाँ बानेश्वरमा गोली चल्दा दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

राजधानी काठमाडौँसहित विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्जलगायत प्रमुख सहर र विभिन्न स्थानमा युवाहरू सडकमा उत्रिएका छन् । प्रदर्शन नियन्त्रणका लागि प्रशासनले काठमाडौँ र पोखराका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ भने अन्य केही सहरमा निषेधाज्ञा लगाइएको छ ।

सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र बढ्दो भ्रष्टाचारप्रति असन्तुष्ट भएका युवाहरूले सडकमा उत्रिएर “समान अवसर, स्वतन्त्र अभिव्यक्ति र भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता” जस्ता नारा दिएका छन् ।

यसबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा मुलुकभर फैलिएको आन्दोलन, सुरक्षास्थिती र अगाडिका कदमबारे छलफल हुने बुझिएको छ ।

उता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा( एकिकृत समाजवादी) पार्टी का अध्यक्ष माधव कुमार नेपाल ले जेनजेड युवाहरूले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । “युवापुस्ताको आवाज सुन्न ढिलाइ गर्नु मुलुकको लागि अझ ठूलो संकट निम्त्याउने खतरा हुन्छ” भन्दै माग पूरा गर्न जोड दिएका छन् ।

यस घटनापछि देशभरको राजनीतिक वातावरण थप तङ्गिन पुगेको छ भने विभिन्न नागरिक समाजका प्रतिनिधि, मानवअधिकार संगठन र अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीर चासो व्यक्त गरेका छन् ।

Next Post

जेनजेड आन्दोलन : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै एकीकृत समाजवादी

२३ भाद्र २०८२, सोमबार १५:३६
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग गरेको छ । सोमबार बसेको पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले ‘जेनजेड’ पुस्ताका युवाहरूले उठाएका मागको समर्थन गर्दै विशेष प्रस्ताव पारित गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता प्रकाश ज्वालाले भने, […]

सम्बन्धित शीर्षक