काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग गरेको छ । सोमबार बसेको पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले ‘जेनजेड’ पुस्ताका युवाहरूले उठाएका मागको समर्थन गर्दै विशेष प्रस्ताव पारित गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता प्रकाश ज्वालाले भने, “यो हद भयो । अहिले नै आन्दोलनकारीका माग सम्बोधन गर सरकार । सामाजिक सञ्जाल खुला गर । यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन । तत्काल राजीनामा दिनुपर्छ ।”
बैठकले सामाजिक सञ्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकारमाथि नियन्त्रण गर्ने सरकारको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भन्दै कडा निन्दा गरेको छ ।
आन्दोलनप्रति समर्थन
पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार तथा कुशासनविरोधी आन्दोलनको रूपमा अघि बढ्नु जायज छ ।”
त्यस्तै, सरकारी दमनको विरोध गर्दै प्रवक्ता ज्वालाले मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति सहानुभूति व्यक्त गरेका छन् । उनले भने, “सरकार हिंसात्मक दमनमा उत्रिएको छ । केही युवाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । घाइतेहरूको तत्काल उपचारको व्यवस्था हुनुपर्छ ।”
सरकारलाई दबाब, आन्दोलनकारीलाई अपिल
एकीकृत समाजवादीले आन्दोलनकारीका जायज माग वार्तामार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । साथै, आन्दोलनलाई शान्तिपूर्ण र मर्यादित ढंगले अगाडि बढाउन युवाहरूसँग अपिल गर्दै विज्ञप्तिमा भनिएको छ, “सरकारी दमनको भर्त्सना गर्दै दमन बन्द गर्नुपर्छ । आन्दोलनलाई उत्तेजना वा मुठभेडतर्फ धकेल्न दिनु हुँदैन । यसले आन्दोलनको गरिमा र प्राप्त जनसमर्थनलाई दुरुपयोग नगर्नु आवश्यक छ ।”
यससँगै देशको राजनीतिक तनाव थप चर्किँदै गएको छ । एकातर्फ सरकारले कर्फ्यु र निषेधाज्ञा जारी गरेर आन्दोलन नियन्त्रण गर्ने प्रयास गरिरहेको छ भने अर्कोतर्फ प्रमुख विपक्षी दल र समाजवादी शक्तिहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई घेरा हाल्न थालेका छन् ।