कर्णालीका ३ जिल्लामा विद्युत सबस्टेसन निर्माण कार्यमा ढिलाइले सेवाग्राही सास्ती

  ।   १८ मंसिर २०८१, मंगलवार १५:०१

मुगु । कर्णालीका तीन जिल्लामा विद्युत सबस्टेसन निर्माण कार्यमा ढिलाइ हुँदा जिल्लाको विद्युत उत्पादनमा समस्या आउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

मुगु, हुम्ला र जुम्लाको लागि कालिकोट जिल्लाको नाग्मस्थित विद्युत उत्पादनका लागि विद्युत सबस्टेसन निर्माण कार्यमा ढिलाइ हुँदा जिल्लाको विद्युत उत्पादनमा समस्या आउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको हो । सबस्टेसन निर्माणको जिम्मा पाएको वाइबा इन्फ्राटेक प्रा लि काठमाडौँले विद्युत सबस्टेसन निर्माणको कार्यमा ढिलाइ गर्दा सबस्टेसन सञ्चालनमा आउन नसकेको जनाएको छ ।

छायानाथ रारा नगरपालिका वडा नं १ का समाजसेवी विनोद कुमार मल्लले निर्माण कम्पनीले समय अवधिभित्र विद्युत् सबस्टेसन सम्पन्न नहुँदा उक्त सबस्टेसन अहिलेसम्म सञ्चालनमा नआउँदा यस क्षेत्रका उपभोक्ता समस्या खेप्न बाध्य भएका छन् । सामान्य समस्या हुँदा घण्टौँ विद्युत् अवरुद्ध हुने जस्ता समस्याले यहाँका उपभोक्ता आजित भएको दुःखेसो मल्लले पोखे । “छिनछिनमा विद्युत् जाने, सामान्य समस्या हुँदा घण्टौँ बिजुली नआउने समस्याले यहाँका ज्येष्ठ नागरिक विद्यार्थी लगायत आमउपभोक्ता मारमा परेका छन्,“ उनले भने, “सबस्टेसन छिटो सञ्चालनमा आउँदा आम उपभोक्ताले राहत पाउँथे ।“

विद्युत प्राधिकरण शाखा मुगुका कार्यालय प्रमुख साजन ऐडीका अनुसार कालिकोटको सदरमुकाम मान्माबाट ११ केभी बत्ती ल्याउनुपर्दा लामो प्रसारण लाइनका कारण छिन छिनमै बत्ती जाने, भोल्टेज नहुने तथा वर्षाको बेला दिनभर जसो विद्युत् अवरुद्ध हुने समस्या रहेको छ ।

दावाँसिङ जेभी प्रालीका कर्मचारी अर्जुन केसीका अनुसार नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतको आयोजनमा नाग्म देखि मुगुको सदरमुकाम गमगढी सम्म ६५। ३६ किलो मिटर ३३ केभीको तार तान्ने काम सम्पन्न भएको छ ।

नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको आयोजनामा नाग्म विद्युत सबस्टेसन को निर्माण गर्नलाई प्राधिकरणसँग २०७९ साल कात्तिक महिना देखि २०८१ सालको मङ्सिर महिनासम्म सम्पन्न हुनेगरि वाइबा इन्फ्राटेक प्रा लि काठमाडौँसँग सम्झौता भएको नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय आयोजनाका संयोजक धीरेन्द्र यादवले जानकारी दिए । समय अवधिभित्र काम सम्पन्न गर्नलाई सम्बन्धित निर्माण प्रणालीलाई पटक–पटक पत्राचार गरेको उनले बताए ।

उनका अनुसार नाग्म विद्युत सबस्टेसनको अहिले सम्ममा कामको प्रगति २२ प्रतिशत घेरवार गर्ने काममात्र सम्पन्न भएको छ । नाग्मस्थित विद्युत सबस्टेसन छिटो सञ्चालनमा आएपछि यहाँका साबिकका कर्णाली प्रदेशका जुम्ला, मुगु र हुम्ला जिल्लाका उपभोक्तालाई विद्युत् आपूर्तिमा नियमित हुने र भोल्टेजको समस्या पनि समाधान हुने प्राधिकरणका प्राविधिकहरूले बताएका छन् । -नेपाली रैबार

Next Post

विश्व बैङ्कको सहयोगमा कर्णालीका सडक स्तरोन्नति हुदैँ

१८ मंसिर २०८१, मंगलवार १५:०१
सुर्खेत ।  कर्णाली प्रदेश सरकारले विश्व बैङ्कको सहयोगमा सडक स्तरोन्नति गर्न लागेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर सडक स्तरोन्नतिको योजना ल्याइएको हो । प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना अन्तर्गत सडक सुधार गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । चालु आवको पहिलो चरणमा केही सडक स्तरोन्नति गरिने छ । पछिल्लो […]