विश्व बैङ्कको सहयोगमा कर्णालीका सडक स्तरोन्नति हुदैँ

  ।   १८ मंसिर २०८१, मंगलवार १७:१२

सुर्खेत ।  कर्णाली प्रदेश सरकारले विश्व बैङ्कको सहयोगमा सडक स्तरोन्नति गर्न लागेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर सडक स्तरोन्नतिको योजना ल्याइएको हो । प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना अन्तर्गत सडक सुधार गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

चालु आवको पहिलो चरणमा केही सडक स्तरोन्नति गरिने छ । पछिल्लो समय धमाधम नयाँ ट्र्याक खोलिए पनि सडक स्तरोन्नतिमा ध्यान दिइएको पाइँदैन । अझ स्थानीय सरकारले जनतालाई सेवा दिने उद्देश्यले नयाँ नयाँ सडक निर्माण गर्दा नागरिकलाई सहजभन्दा बढी सास्ती हुने गरेको छ । प्रदेश सरकारले ट्र्याक खोलिएका सडक स्तरोन्नतिमा चासो देखाएको छ । यसले गर्दा नागरिकलाई सहज हुने छ । चालु आवमा विश्व बैङ्कको सहयोगमा सीमित सडकको स्तरोन्नति गरिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।

विश्व बैङ्कको ८० प्रतिशत र प्रदेश सरकारको २० प्रतिशत सहयोगमा सडक स्तरोन्नति गर्न लागिएको हो । चालु आवमा ठेक्का सम्झौता गरेर काम अघि बढाइने मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताउनुभयो । उनका अनुसार यो वर्ष पहिलो चरणका रूपमा डुङ्गेश्वर–डाँडापराजुल सडक, डुङ्गेश्वर–दैलेख सडक, गल्फागाड–थाडाँकाटे–अदानचुली हुम्ला सडक स्तरोन्नति गरिने छ । उक्त सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले ६० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले पछिल्लो पटक सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ ।

पहिलो कार्यकालका जनप्रतिनिधिले बिनाअध्ययन सडकको ट्र्याक खोल्दा समस्या पैदा भइरहेको छ । सरकारले अति आवश्यक रहेका सडकको प्राथमिकीकरण गरेर सडक स्तरोन्नति गर्ने नीति अवलम्बन गरेको छ । यस अनुसार विभिन्न स्थानमा सडक स्तरोन्नति गर्न लागिएको हो ।

त्यस्तै, प्रदेश सरकारले यो वर्ष प्रदेश रणनीतिक महत्वका सडक निर्माण गर्ने भएको छ । यसका लागि प्रदेश सडक गुरुयोजना निर्माण गरिएको छ । गुरुयोजना अनुसार प्रदेश रणनीतिक महत्वका सडक छनोट गरिने प्रदेश सरकारले जनाएको छ । सरकारले गुरुयोजना स्वीकृत गर्नेबित्तिकै रणनीतिक सडक छनोट गरिने भौतिक मन्त्रालयका प्रवक्ता सुवेदीले बताउनुभयो । उनका अनुसार सम्भाव्यता अध्ययन गरेर नयाँ रोडम्याप अनुरूप सडक निर्माण गर्न लागिएको बताउनुभयो।

Next Post

समाजवादी प्रेस संगठनद्धारा पत्रकार महासंघ कालिकोटमा तालाबन्दी

१८ मंसिर २०८१, मंगलवार १७:१२
कालिकोट । समाजवादी प्रेस संगठन नेपाल कालिकोट जिल्ला शाखाले नेपाल पत्रकार महासंघको शाखा कार्यालय कालिकोटमा तालाबन्दी गरेको छ । निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा गैरपत्रकारका नाम थप्दै निर्वाचन समितिलाई बुझाउने तयारी भइरहँदा संगठनले तालाबन्दी गरेको हो । सदस्यता शुद्धीकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रूपमा सदस्यता नामावली तयार […]