अपडेट

भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

  ।   १८ भाद्र २०८३, बिहीबार २१:३३

काठमाडौं । नेपाल सरकारले गत साता भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आगामी भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी आएको १३औँ दिन मृतकप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

सरकारका अनुसार भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीमा ठूलो जनधनको क्षति भएको छ । उक्त प्राकृतिक विपत्तिमा ज्यान गुमाएका व्यक्तिहरूको सम्मान तथा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउन १३औँ दिन राष्ट्रिय शोक घोषणा गरिएको हो।

राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने सरकारले जनाएको छ।

मन्त्री पोखरेलका अनुसार भदौ २२ गते मृतकहरूको सम्मानमा राज्यका सबै निकायले औपचारिक रूपमा शोक व्यक्त गर्नेछन्।

सरकारले उक्त बाढीलाई असाधारण प्राकृतिक विपत्तिका रूपमा लिँदै प्रभावित क्षेत्रको उद्धार, बेपत्ता व्यक्तिको खोजी तथा पीडित परिवारको राहत र पुनर्स्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ।