सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित मंगलगढी चोकमा बिहीबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा एक युवक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ९ गते बिहान करिब ५ : ३० बजे एरीचोकबाट बसपार्कतर्फ आउँदै गरेको क.प्र.०२००१ क ००२४ नम्बरको टिप्परले मण्डीलाइनबाट मंगलगढीतर्फ जाँदै गरेको बा.प्र.०२०३५ प ३७९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक जिल्ला कालीकोट शुभकालिका गाउँपालिका–६ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–८ मा बसोबास गर्दै आएका १८ वर्षीय टेकराज शाही गम्भीर घाइते भएका छन्। प्रारम्भिक रूपमा बाहिरी चोट नदेखिए पनि सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको तथा दुबै खुट्टा र शरीरका विभिन्न भागमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।
घाइते शाहीलाई तत्काल कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा उपचार गरिएको थियो। तर अस्पतालमा न्युरो सर्जन उपलब्ध नभएकाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ। हाल उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ।
दुर्घटनामा संलग्न टिप्पर चालक वीरेन्द्रनगर नगरपालिका–२ निवासी २३ वर्षीय कमल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा तालुक कार्यालयबाट खटिएको प्रहरी टोलीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट करिब ६०० मिटर पश्चिम–दक्षिणतर्फ पर्ने स्थानमा रहेको छ। दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






