बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
आज कात्तिक ७ गते बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ। घाइते शाहीलाई उपचारका क्रममा बिहान १० बजेर ८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।
सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ। घाइते कार चालक ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ।
त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
दोस्रो कारका चालक घोराही उपमहानगरपालिका–७ सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगीलाई चोटपटक नलागेको जनाइएको छ। उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ।
दुर्घटनाको कारणबारे थप विवरण प्रहरीले अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।






