जुम्ला। जुम्ला उद्योग वाणिज्य संघको नेतृत्व अब व्यवसायी दिल बहादुर रोकायाले गर्ने भएका छन्। शनिबार सम्पन्न चुनावी साधारण सभामा रोकायासहित १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएपछि संघले नयाँ कार्यकालको यात्रा सुरु गरेको छ।
संघको अध्यक्षमा रोकायाको चयनसँगै उपाध्यक्षतर्फ वाणिज्य क्षेत्रको प्रतिनिधित्व गर्दै डम्बर कुमारी खड्का, उद्योग क्षेत्रतर्फ बालकृष्ण बुढा र महिला उपाध्यक्षतर्फ सुनिता श्रेष्ठ निर्वाचित भए। यसरी तीन फरक क्षेत्रबाट आएका प्रतिनिधिहरूले वाणिज्य संघलाई थप समावेशी बनाउने अपेक्षा गरिएको छ।
महासचिवमा देवेन्द्रराज उपाध्याय र कोषाध्यक्षमा अनुपमा रोकायाले जिम्मेवारी सम्हाल्ने भएका छन्। खुला सदस्यतर्फ मन्न थापा, मेगराज देवकोटा, टेकेन्द्र प्रसाद नगरकोटि, भगवती थापा र राष्टु कठायत चयन भए। त्यस्तै, महिला सदस्यमा रम्वा भण्डारी, जनजाति सदस्यमा नन्द बहादुर गुरुङ, दलित सदस्यमा हरि बहादुर सार्की, एसोसिएट सदस्यमा रवि मनिहार र वस्तुगत सदस्यमा ज्ञान बहादुर विक निर्वाचित भए। लेखा समितिमा संयोजक जीवन कठायत बने भने सदस्यमा कृष्ण चौलागाईं र अटल शाही निर्वाचित भए। निर्वाचन अधिकृत दिल बहादुर महतका अनुसार, नयाँ पदाधिकारी र सदस्यहरूलाई सोमबार सपथ ग्रहण गराइने छ।
जुम्ला उद्योग वाणिज्य संघको विगतलाई हेर्ने हो भने यहाँ चुनाव प्रायः चर्काचर्की र पार्टीगत ध्रुवीकरणबीच हुने गर्थ्यो। विभिन्न समूहबीच कडा प्रतिस्पर्धा हुँदा नेतृत्व चयन कठिन बन्थ्यो। तर यसपटक भने सबै पक्षबीच सहमति जुटेर नेतृत्व सर्वसम्मत चयन गरिएको हो। स्थानीय व्यवसायीहरूका अनुसार, सहमतिमा नेतृत्व चयन हुनुले व्यवसायीबीच आपसी विश्वास बढेको छ र यसले संगठनलाई अझ मजबुत बनाउन मद्दत गर्नेछ।
संघको नयाँ टिमसँग व्यवसायीहरूले ठूला अपेक्षा राखेका छन्। जुम्ला भौगोलिक रूपमा दुर्गम भएकाले यहाँको व्यवसाय चुनौतीपूर्ण मानिन्छ। यातायात, पूर्वाधार, बजार विस्तार र लगानीमैत्री वातावरणको खाँचो रहेको व्यवसायीहरूको बुझाइ छ। नयाँ नेतृत्वले यी विषयमा ठोस पहल गर्ने अपेक्षा गरिएको छ। विशेषगरी, जुम्लाका स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा पुर्याउने, कृषि र पर्यटनसँग जोडिएका व्यवसायलाई प्रोत्साहन गर्ने र व्यवसायमैत्री वातावरण बनाउन संघ सक्रिय हुने अपेक्षा गरिएको छ।
अध्यक्ष दिल बहादुर रोकायाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिले विगतका अनुभवलाई आधार बनाएर भविष्यका चुनौतीलाई सम्बोधन गर्ने वाचा गरेको छ। सहमतिमा चयन भएको यस कार्यसमितिले जुम्ला उद्योग वाणिज्य संघलाई नयाँ ऊर्जा दिने विश्वास व्यवसायीहरूले लिएका छन्।






